समाचारशुक्रबार, भाद्र ४, २०७२
गच्छदार पनि आन्दोलनमा जाने !
सीमाङ्कन सहमति नजिक पुगेको भन्ने नेताहरुको भनाई आइरहेका बेला मधेशी जनाधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदार भने बैठकबाट बाहिरिएका छन् ।
आज सिंहदरबारमा बसेको चार दलका शीर्ष नेता सहभागी विशेष समितिको बैठकमा आफ्ना मागलाई पूर्ण बेवास्ता गर्दै तीन दलका नेताहरु अघि बढ्न खोजेको भन्दै गच्छदार निस्किएका हुन् ।
उनी निस्किएपछि विशेष समितिको बैठक अपराह्न ४ बजेसम्मका लागि स्थगित भएको छ ।
“अब तपाइहरुको निर्णयको साक्षी भएर बस्न सक्दैनौं, हामी आफ्नै निर्णयमा अगाडि बढ्छौं ।” गच्छदारलाई उद्धृत गर्दै फोरम लोकतान्त्रिकका महासचिव रामजनम चौधरीले भने ।
उनले अगाडि भने, “कैलाली कञ्चनपुर नदिने, झापा, मोरंग, सुनसरी पहाडसँग गाभ्ने र नवलपरासी टुक्र्याएको विषयमा पनि सुनुवाई नगर्ने भएपछि हामी आन्दोलनमा जाने निर्णय गरेका हौं ।”
उनले आफ्नो दलको धारणा आजै सार्वजनिक गर्ने जानकारी दिए ।
