समाचारशुक्रबार, भाद्र ४, २०७२

सडक र सदनमा संघर्ष चर्काउने गच्छदारको घोषणा, ८ प्रदेशको माग

हिमालखबर

तस्वीर: बिक्रम राई

तस्वीर: बिक्रम राई

प्रमुख तीन दलले ७ प्रदेशमा गरेको सहमतिप्रति  असन्तुष्टि जनाउँदै मधेशी जनाधिकार फोरम लोकतान्त्रिकले आन्दोलनमा जाने निर्णय गरेको छ ।

४ भदौमा पत्रकार सम्मेलन गरी फोरम  लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदारले तराईमा मधेश केन्द्रित दलहरु र थारु संघर्ष समितिले गरिरहेको आन्दोलनलाई समर्थन गर्ने  बताएका छन् ।

गच्छदारले १६ बुँदे सहमतिबाट  तीन दल पछि हटेको भन्दै थपे, “थारु जातिको पहिचानलाई समाप्त पार्ने गरी प्रस्ताव गरिएको ७ प्रदेशमा हाम्रो घोर आपत्ति छ ।”

उनले तराईमा तीन प्रदेश र पहाडमा पाँच प्रदेश गरी ८ प्रदेश बनाउन आफूले धेरै अघिदेखि गरेको प्रस्तावलाई अरु नेताहरुले अस्वीकार गरेको बताए ।

नेपाली कांग्रेस र एमालेप्रति आक्रोशित देखिएका उनले भने, “उनीहरुले संघीयताको मर्म नै बुझ्न सकेनन् ।” आफूले सात प्रदेशमा असहमति जनाए पनि विशेष समिति र संविधानसभा दुवै नछोड्ने पनि जानकारी गराए ।

उनले भने, “सदन र सडक दुवै ठाउँमा हाम्रो सशक्त संघर्ष जारी रहनेछ ।”

तराईमा पूर्वका झापा, मोरङ, सुनसरी, सप्तरी, सिरहा र उदयपुरलाई मिलाएर एउटा प्रदेश बनाउनु पर्ने, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा र पर्सा मिलाएर अर्को र पश्चिममा नवलपरासीदेखि कञ्चनपुरसम्म थारु बहुल तेस्रो प्रदेश बनाउनु पर्ने उनको माग छ ।

पार्टी केन्द्रीय समितिको बैठक बसेर संघर्षका कार्यक्रमहरु तय गरिने फोरम लोकतान्त्रिकले जनाएको छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>