समाचारबिहीबार, कार्तिक ३०, २०६९
आज भाइटीका मनाइँदै
भाइटीकाका लागि शुभसाइत बिहान ११ बजेर २३ मिनेटमा शुरु हुने र सूर्यास्तसम्म टीका लगाउन हुने नेपाल पञ्चाङ्ग निर्णायक समितिका सदस्यसचिव सूर्यप्रसाद ढुङ्गेलले जानकारी दिए ।
भाइटीका अगाडि दिदीबहिनीले धार्मिक विधिअनुसार मण्डप बनाई अष्टचिरञ्जीवीको पूजाका साथ त्यसमा कहिल्यै नसुक्ने तेलको घेरा लगाई पूजा गर्ने परम्परा छ । दिदीबहिनीले दाजुभाइलाई दुबो, मखमली र सयपत्री फूलको माला तथा सप्तरङ्गी टीका लगाइदिएर दीर्घायुको कामना गर्छन् ।
त्यस्तै दाजुभाइले पनि दिदीबहिनीलाई टीका लगाइदिएर आफ्नो गच्छेअनुसार दक्षिणा तथा उपहार दिने चलन छ । दाजुभाइ नहुने दिदीबहिनी तथा दिदीबहिनी नहुने दाजुभाइले आज काठमाडौंको रानीपोखरीको बीचमा प्रताप मल्लले बनाएको भनिएको यमलेश्वर महादेव मन्दिर गई दर्शन गरी टीका लगाउँछन् । उक्त मन्दिर प्रत्येक वर्ष भाइटीकाको दिन मात्र सर्वसाधारणका लागि खुला गरिन्छ । रासस
