समाचारशनिबार, भाद्र ५, २०७२
दुई ट्रकमा आगजनी, बस पल्टिँदा चौध घाइते
सीमाङ्कनको विरोधमा उत्रिएको संयुक्त मधेशी मोर्चाले बन्द अवज्ञा गरेको भन्दै सप्तरीका छुट्टाछुट्टै ठाउँमा मोर्चाका कार्यकर्ताले ५ भदौ बिहान दुई वटा ट्रकमा आगजनी गरेका छन् ।
विराटनगरबाट तरकारी लिएर काठमाडौँतर्फ जाँदै गरेको को१ख ३३८९ नंको मालबाहक ट्रकमा बन्दकर्ताहरुले सप्तरीको भारदह–१ स्थित कोसी ब्यारेज सडकखण्डमा आगजनी गरेको प्रहरीले जनाएको छ । आगजनीबाट ट्रक पूर्ण रुपमा ध्वस्त भएको छ ।
यस्तै आजै बिहान सप्तरीको पोर्ताहास्थित पूर्वपश्चिम राजमार्ग सडकखण्डमा पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको ना३ख ७३०० नंको मालबाहक ट्रकमा समेत मोर्चाका कार्यकर्ताले बन्द अवज्ञा गरेको भन्दै आगजनी गरेका छन् ।
त्यस्तै प्रहरीले सुरक्षा दिएर लैजाँदै गरेको ना३ख ४२६६ नंको बसमा बन्दकर्ताले ढुङ्गामुढा गर्दा बस एक्कासि अनियन्त्रित भई पल्टेको छ । बसमा सवार १४ जना यात्रु घाइते भएका छन् ।
घाइतेहरुको स्थानीय स्वास्थ्य क्लिनिकमा र गम्भीर घाइते भएकाहरुलाई विराटनगर पठाइएको प्रहरीले जनाएको छ ।
मोर्चाले आह्वान गरेको बन्दबाट दिनप्रतिदिन सप्तरीको जनजीवन प्रभावित हुँदै गइरहेको छ ।
सप्तरीको सदरमुकाम राजविराजबाट चल्ने लामो तथा छोटो दूरीका सवारी साधन चल्न दिइएका छैन् भने राजमार्गअन्तर्गतको भारदह, कञ्चनपुर, रुपनी, कल्याणपुरलगायतका ठाउँमा ढुङ्गा तेस्र्याएर सडक अवरुद्ध पारेका छन् ।
कलकारखाना, बजार, पसल, शिक्षण संस्थासमेत पूर्ण रुपमा बन्द रहेका छन् ।
