समाचारशुक्रबार, मंसिर १, २०६९
व्यापारीले गरेको फोहर सुरक्षाकर्मीले उठायो
स्थानीय व्यापारीले लक्ष्मीपूजाको दिन पसल सजाउन प्रयोग गरेको केराका बोटहरु चारदिनसम्म पनि सडकमा अलपत्र छोडेपछि सशस्त्र प्रहरीले बाध्य भएर नगरको सफाइ गरेको हो । जनकपुरमा पसल सजाउन करिब एक हजार टनभन्दा बढी केराका बोटको प्रयोग भएको थियो । तर काम सकिएपछि व्यापारीहरुले केराका बोटको उचित व्यवस्थान नगरी सडकमै अलपत्र छोडेका थिए भने नगरपालिकाले पनि त्यो फोहर उठाएन ।
नगरको फोहर उठाउने काम नगरपालिकाको भएपनि चार दिनसम्म फोहर नउठाउनुले नगरको सफाइप्रति नगरपालिका उदासीन रहेको शिवचोकका व्यापारी रामकुमार साहले बताए ।
एकाबिहानै सुरक्षाकर्मीले हातमा कुचो, कोदालो र बेल्चा लिएर नगरको सफाइमा जुटे पनि नगरपालिकाका कर्मचारीको भने त्यो सफाइमा सहभागिता देखिएन । नगरवासीले नगरपालिकाको यो लापर्वाहीप्रति औँला उठाएका छन् । बटुकनाथ झा, जनकपुर

