समाचारशुक्रबार, मंसिर १, २०६९

एमाओवादी ठहर: दाहालमाथिको आक्रमण नियोजित

हिमालखबर

दाहाल निवास लाजिम्पाटमा १ मंसीर साँझ बसेको एमाओवादी नेताहरुको बैठकले घटना षड्यन्त्रमुलक भएको निष्कर्ष निकालेको प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिए । ” प्रारम्भिक सूचनाका आधारमा अध्यक्षमाथिको आक्रमण सुनियोजित र षड्यन्त्रमुलक छ, देशी विदेशीको षड्यन्त्र छ भन्ने देखाउँछ,” बैठकपछि सञ्चारकर्मीहरुसँग सापकोटाले भने ।

उनले मुलुकलाई असफल राष्ट्र बनाउने कुत्सित मनसायले घटना गराइएको भन्दै आक्रमणबारे छानबिन गरिने बताए ।

प्रवक्ता सापकोटाले आक्रमणकारी पदम कुँवर मोहन वैद्य नेतृत्वको नेकपा-माओवादी निकट जनस्वयंसेवक ब्यूरोका बागलुङ जिल्ला सदस्य रहेको बताएका छन् ।

छानबीन समिति गठन

घटनालगत्तै बसेको  सुरक्षा संयन्त्रको बैठकले प्रहरी अतिरिक्त महानिरीक्षक नवराज ढकालको संयोजकत्वमा छानविन समिति गठन गरेको छ ।  समितिका सदस्यहरुमा नायव महानिरीक्षक केशवहादुर शाही र वरिष्ठ उपरिक्षक देवेन्द्र सुवेदी सदस्य छन् ।

त्यसैगरी उक्त बैठकले उच्चस्तरीय वैठकले भीआइपीहरुको सुरक्षाको रणनीति परिवर्तन गर्ने बारेमा पनि छलफल गरी योजना बनाउन गृहसहसचिव शंकर कोइरालाको नेतृत्वमा  कार्यदल गठन गरेको छ ।

नेकपा–माओवादीका नेताहरुको सुरक्षा कडा पारियो

दाहालमाथि आक्रमण गर्ने बाग्लुङ्का पदम कुँवर नेकपा–माओवादीका कार्यकर्ता रहेको भन्ने एनेकपा माओवादीले दाबी गरेपछि सम्भावित खतरालाइ ध्यानमा राखेर नेकपा–माओवादीका नेताहरु मोहन वैद्य, सीपी गजुरेल, रामबहादुर थापाको सुरक्षा व्यवस्था कडा पारिएको छ ।

त्यसैगरी नेकपा–माओवादीको केन्द्रीय कार्यालयमा पनि प्रहरीले सुरक्षा दिइरहेको छ ।

पार्टीको  संलग्नता छैन: वैद्य माओवादी
दाहालमाथि भएको हातपातमा आफ्नो पार्टीको कुनै संलग्नता नभएको नेकपा-माओवादीले जनाएको छ।

पार्टी केन्द्रीय कार्यालयमा १ म‌ंसीर साँझ बसेको  बैठकपछि माओवादी सचिव नेत्रविक्रम चन्दले  दाहालमाथि भएको हातपात दुःखद् भएको बताउँदै घटनामा आफ्नो पार्टीको संलग्नता भएको भनी आएका अभिव्यक्ति पूर्वाग्रही भएको बताएका छन् ।

जनस्वयंसेवकका केन्द्रीय संयोजक उदयबहादुर चलाउनेले पनि कुवँर आफ्नो कार्यकर्ता भएको पुष्टी नभएको बताए । उनले यसबारेमा जानकारी लिइरहेको बताएका छन् ।

दाहाललाई थप्पड हान्ने बाग्लुङ् राजकोटका पदम  कुवँरको परिवार माओवादी आन्दोलनमा रहेपनि पछि निष्क्रिय रहेको बुझिएको छ ।  उनकी दिदी पहिले एमाओवादी जिल्ला समिति सदस्य रहेको र अहिले राजनीति छोडेर  काठमाण्डौमा होटल चलाइरहेकी छिन, दाजु पूर्व जनसेना हुन ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>