समाचारशुक्रबार, भाद्र १८, २०७२
वीरगञ्जः आन्दोलनमा ज्यान गुमाएकाहरुको भोली अन्त्येष्टि गरिने

कर्फ्यूले सुनसान वीरगञ्ज
वीरगन्जमा आन्दोलनकारी र प्रहरीबीच १५ भदौमा भएको झडपमा मृत्यु भएका पाँचजनाको १९ भदौमा अन्त्येष्टि गरिने भएको छ ।
प्रहरीको गोली लागेर ज्यान गुमाएका पर्साको जगरनाथपुर मनियारीका दिलिप चौरसिया, भवानीपुरका धर्मराज सिंह, वीरगन्ज नगवाका सोहन साह कलवार, बाराको प्रसौनी ८ नौतन बहुअरीका भोला प्रसाद तेली र दिनानाथ साह गोढको शव बुझ्न परिवार र आन्दोलनरत पक्ष सहमत भएपछि १९ भदौमा अन्त्येष्टी गरिने भएको हो ।
उनीहरुको शव अहिले नारायणी उपक्षेत्रीय अस्पतालमा छ ।
जिल्ला प्रशासन कार्यालय पर्सामा १८ भदौमा बसेको जिल्ला सुरक्षा समितिको बैठकले मृतक पाँचै जनालाई शहिद घोषणा, परिवारलाई उचित क्षतिपुर्ति र घाइतेहरुको उपचार खर्चका लागि गृहमन्त्रालयमा सिफारिस गर्ने निर्णय गरेपछि शवको अन्त्येष्टि गर्न सहमत भएको संयुक्तसंघीय समाजवादी फोरम नेपाल पर्साका अध्यक्ष प्रदीप यादवले जानकारी दिए ।
१९ भदौ बिहान १० बजे नारायणी उपक्षेत्रीय अस्पतालबाट शव यात्रा निकालेर नगवा, नौतन बहुअरी, जगरनाथपुर मनियारी हुँदै विन्दवासीनी स्थित तिलावे नदीमा लगेर सामूहिक अन्त्येष्टि गरिने उनले बताए ।
सुरेश बिडारी, वीरगञ्ज
