समाचारशुक्रबार, भाद्र १८, २०७२
फ्लोर क्रस गर्दैनौंः कांग्रेस सभासद यादव
नयाँ संविधानको विधेयकमा असन्तुष्टि जनाउँदै नेपाली कांग्रेसका सभासदहरुले फ्लोर क्रस नगर्ने जनाएका छन् ।
पार्टीलाई संशोधनका लागि २५ बुँदे प्रस्ताव पेश गरेका सभासदहरुले पार्टी निर्देशन विपरीत संशोधन प्रस्ताव संविधानसभामा नहाल्ने जनाएका छन् । सभासद महेन्द्र यादवले भने, “बिमती पार्टीमा बुझाएका छौं, तर फ्लोर क्रस गरेर संशोधन पेश गर्दैनौं ।”
मधेशबाट निर्वाचितलगायत ४३ जना नेपाली कांग्रेसका सभासदहरुले असहमतिका २५ बुँदा बुझाएका छन् । उनीहरुले पार्टीसँग समन्वय गरेर मात्रै संशोधन पेश गर्ने जनाएका छन् ।
मधेशमा तीन प्रदेश हुनुपर्ने, नागरिकतामा भएको विभेद हटाउनुपर्ने, धर्म निरपेक्षतालाई कायम राख्नुपर्ने, निर्वाचन क्षेत्र निर्धारण गर्दा जनसंख्या र भूगोललाई नै कायम गर्नुपर्नेलगायत माग उनीहरुले राखेका छन् । कांग्रेसले पार्टीसँग समन्वय नगरी संशोधन प्रस्ताव पेश नगर्न ह्वीप जारी गरेको छ ।
यद्यपी, नेता शेखर कोइरालाले भने संशोधन प्रस्ताव संविधानसभामा बुझाइ सकेका छन् । उनले पार्टी निर्देशन क्रस गर्दै संशोधन प्रस्ताव पेश गरेका हुन् ।
नयाँ संविधानको अन्तिम विधेयकमाथि संविधानसभाले संशोधन प्रस्तावका लागि दिएको एक हप्ताको समय १९ भदौमा सकिदैछ । सीमाकंनसहितको सात प्रदेशमा सहमति जनाएका प्रमुख तीन दलले आफ्ना सभासदहरुलाई फ्लोर क्रस गरेर संशोधन पेश नगर्न निर्देशन दिएका छन् ।
२५ जेठमा सम्पन्न १६ बुँदे राजनीतिक सहमतिमार्फत अघि बढेको संविधान निर्माण प्रक्रिया अवरुद्ध नहुनेगरी दलहरुबीचको सहमतिमा मात्रै संशोधन पेश गर्ने निर्णय उनीहरुबीच भएको छ ।
