समाचारशुक्रबार, भाद्र १८, २०७२
सडकबाट संविधान भन्नु लोकतन्त्रको अपमानः मन्त्री पण्डित
सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले संविधान बनाउन गठन भएको संविधानसभाबाटै जनताको संविधान जारी हुने बताएका छन् ।
मकवानपुर पुगेका मन्त्री पण्डितले भने, “कसैले सडकबाट संविधान जारी गर्छु भन्छ भने त्यो लोकतन्त्रको विरोध हो ।” उनले अहिले संघीयता, लोकतन्त्र र अग्रगमन चाहनेहरुको एकता आवश्यक भएको बताए ।
उनले संविधान बन्न नदिनेहरुलाई जनताले सजाय दिने बताए । मन्त्री पण्डितले भने, “असन्तुष्टि भोलि पनि सम्बोधन गर्न सकिन्छ, तर संविधान जारी नभए केमा संशोधन गर्ने ?”
उनले रोगी विचार बोक्नेहरुको कारण राष्ट्रिय अखण्डता र सामाजिक सदभाव विथोल्न प्रयत्न भइरहेको बताए । मन्त्री पण्डितले भने, “राष्ट्रिय अखण्डतामा आँच पुर्याउनेसँग लड्न म तयार छु ।”
–सुरजकुमार भुजेल
