समाचारशनिबार, भाद्र १९, २०७२
पर्साः नगवा इलाका प्रहरी कार्यालयमा आगजनी

आगो लगाइएको नगवा प्रहरी चौकी । तस्वीर: सुरेश विडारी
वीरगन्जको नगवास्थित ईलाका प्रहरी कार्यालयमा १९ भदौ दिउँसो प्रदर्शनकारीले आगजनी गरेका छन् ।
करिब २५ जनाको संख्यामा रहेको समूहले ईलाका प्रहरी कार्यालयमा आगो लगाएपछि कार्यालयमा रहेका फर्निचर, कागजपत्रका साथै कार्यालय परिसरमा रहेको प्रतिक्षालय ध्वस्त भएको छ ।
चार दिन अघि नै सुरक्षाको कारण देखाउँदै त्यहाँ रहेका प्रहरीहरुलाई जिल्ला प्रहरी कार्यालय पर्सामा बोलाइएको थियो ।
वीरगञ्जमा १५ भदौमा भएको विरोध प्रदर्शनका क्रममा प्रहरीको गोली लागेर नगवाका स्थानीय सोहन साह कलवारको मृत्यु भएको थियो । उनको आजै अन्त्येष्टि गरिएको छ ।
यस्तै वीरगन्जको पावर हाउस चोकमा रहेको ट्राफिक प्रहरी बिटमा तोडफोड भएको छ ।
३२७ सवारी साधन गन्तव्यतर्फ
वीरगञ्जबाट हिजो, १८ भदौ राति ३२७ सवारी साधनलाई प्रहरी सुरक्षामा गन्तव्यतर्फ पठाइएको छ ।
स्थानीय प्रशासनले कफ्र्यू लगाएको समयमा कडा सुरक्षा घेराबीच पेट्रोलियम पदार्थ, दैनिक उपभोग्य बस्तु बोकेका मालबहाक र यात्रु बहाक सवारी साधन वीरगञ्ज बाहिर पठाइएको हो ।
जिल्ला प्रशासन कार्यालय पर्साले दिएको जानकारी अनुसार वीरगञ्जबाट १२८ ओटा डिजल र पेट्रोलका ट्याङ्कर, ७४ ओटा एलपी ग्याँसका ट्याङ्कर, अन्य उपभोग्य बस्तुका ४७ ओटा ट्रक वीरगञ्ज बाहिर पठाइएको छ ।
त्यसैगरी ३५ ओटा कण्टेनर, ५ ओटा यात्रु बहाक बस, १७ ओटा गाडीका चेसीस, २० लहरी ट्रक वीरगञ्ज बाहिरिएको प्रशासनले जनाएको छ भने अन्यत्रबाट आएका ३१० वटा सवारी साधन वीरगञ्ज हुँदै रक्सौल गएका छन् ।
लगातारको बन्दका कारण वीरगञ्जका बासिन्दाको जनजीवन कष्टकर भए पनि प्रशासनले मुख्य सडक र भन्सार क्षेत्रमा कफ्र्यू लगाएर मालबस्तु बाहिर पठाउने गरेको छ ।
सुरेश बिडारी, वीरगञ्ज
