समाचारसोमबार, भाद्र २१, २०७२
संविधान रोक्न संशोधन दर्ता गरिएको होइनः पेम्बा भोटे
नेपाल आदिवासी जनजाति महासंघका महासचिव पेम्बा भोटेले नयाँ संविधानको विधेयकमा दर्ता गरिएको संशोधन प्रस्ताव संविधान रोक्नका लागि नभएको बताएका छन् ।
उनले विधेयकमा असहमति जनाउँदै संशोधनको प्रस्ताव दर्ता गरिएको भएपनि संविधान निर्माण प्रक्रियालाई रोक्नेगरी नआएको बताए । उनले हिमालखबरसँग भने, “आदिवासी जनजातिको मागहरु संविधानसभामा पेश गरेका छौं, तर संविधान निर्माण प्रक्रिया रोक्नु हुँदैन भन्नेमा सचेत छौं ।”
उनले नयाँ संविधान उत्पीडित वर्ग, जाति, क्षेत्र र लिङ्गका लागि बढी आवश्यक भएकाले तत्काल जारी गर्नुपर्ने पक्षमा महासंघ रहेको बताए । उनले भने, “असहमतिसहित नयाँ संविधानमा हस्ताक्षर गर्छौ ।”
पहिलो संविधानसभाको असफलताबाट सिक्दै जनजातिको अधिकतम अजेण्डा नयाँ संविधानमा समेट्नेगरी संविधान जारी गर्नेतर्फ जोड दिने उनले बताए । २६ जना मनोनित सभासदमा एमाले कोटाबाट परेका भोटेले पार्टीको निर्देशन पालना गर्ने बताए । उनले भने, “महासंघको महासचिव भएकाले यो प्रस्ताव पेश गरेको हुँ, संविधान निर्माणमा अवरोध हुन दिन्न ।”
