समाचारमंगलबार, भाद्र २२, २०७२
गच्छदारले बुझाए प्रक्रियाबाट अलग्गिएको पत्र

तस्वीर: देवकी बिष्ट
मधेशी जनाधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदारले आफ्नो पार्टी संविधान जारी गर्ने प्रक्रियाबाट अलग भएको भन्दै संविधानसभा अध्यक्ष सुवास नेम्वाङलाई ध्यानाकर्षण पत्र बुझाएका छन् ।
२२ भदौमा सिंहदरबारमा सभाध्यक्षलाई पत्र बुझाउँदै उनले आफ्नो दल प्रक्रियाबाट अलग भए पनि सहमति निर्माणको परिस्थिति आएमा रचनात्मक सहयोग गर्न सदैव तत्पर रहने पनि बताएका छन् ।
“नयाँ सहमतिको परिस्थिति निर्माण नभएसम्म संविधान घोषणाको जारी प्रक्रियाबाट हाम्रो पार्टी अलग भएको जानकारी गराउँदै, सहमति निर्माणका लागि अध्यक्षज्यूबाट हुने सम्पूर्ण सकारात्मक पहलहरुमा हाम्रो पार्टी र म सदैव रचनात्मक सहयोगका गर्न तयार रहेको व्यहोरा जानकारी गराउँदछु,” पत्रमा उल्लेख छ ।
उनले संविधान निर्माण प्रक्रियालाई अघि बढाउन आफूले हरसम्भव प्रयास गरेर धेरै विषयमा सहमति कायम गरेको भए पनि अन्तिम समयमा तीन प्रमुख दलले आफूलाई ‘बाईपास’ गरेको बताए ।
सभाध्यक्ष नेम्वाङलाई सहमति निर्माणका लागि अन्तिम प्रयास गर्न आग्रह गरेको पनि गच्छदारले जानकारी दिए ।
“अध्यक्षलाई सहमतिका लागि प्रयास गर्न आग्रह गरेका छौं, उहाँले पनि संविधान निर्माणलाई अहिलेको चरणसम्म ल्याइपुर्याएको भन्दै धन्यवाद र शुभकामना दिनुभयो,” गच्छदारले सञ्चारकर्मीसँग भने ।
तराईमा भइरहेको विरोध प्रदर्शन र असन्तुष्टिलाई सम्बोधन गर्न तीन दल लचिलो हुनु पर्ने र त्यसका लागि समय रहेको भन्दै आफूले अझै पनि सहमतिका लागि प्रयास गरिरहने उनकोे भनाई थियो ।
