समाचारशनिबार, मंसिर २, २०६९
छठ पर्व शुरु
चार दिनसम्म मनाइने यस पर्वको पहिलो दिन अरबा–अरबाइन, दोस्रो दिन खरना, तेस्रो दिन बेलुकी अस्ताउन थालेको र चौथो दिन उदाउँदो सूर्यलाई पूजा गरिन्छ ।
सन्तान प्राप्ति, निरोगीता, सुख, समृद्धि र चर्मरोग निको हुने जनविश्वासअनुरूप पारस्परिक आत्मीयता र सद्भावको प्रतीकका रूपमा यो पर्व मनाइन्छ ।
छठ पर्व तराईको कृषि संस्कृतिमा आधारित छ । यस पर्वमा धनी, गरिब, उँचनिचको भेदभावलाई छोडेर सबै वर्ग, समुदाय एउटै सांस्कृतिक पृष्ठभूमिमा पूजाअर्चनाका लागि उभिने गर्छन् जो समन्वय र परस्परा सद्भावले उन्मुख हुने प्रेरणात्मक सङ्केत हो ।
पहिला तराईवासीमा मात्र सीमित यो पर्व अहिले राजधानी, पहाडी क्षेत्र र अन्यत्र पनि लोकप्रिय हुँदै आएको छ ।
अत्यन्त श्रद्धा र निष्ठाले मनाइने पर्व छठ ‘षष्ठी’ शब्दको लोककरण हो । षष्ठीलाई छठ परमेश्वरीका रूपमा आराधना गरिने यो सांस्कृतिक पर्व वास्तवमा सूर्य पूजा नै हो । प्रकृति देवता सूर्यको उपासना यस क्षेत्रमा वैदिककालदेखि नै प्रचलित रहेको छ । सूर्य आरोग्यका देवताका साथै निर्धनताका निवारक पनि मानिन्छन् । छठ पर्वमा सूर्यको पूजाअर्चना गरिनु मूल तत्व मानिएपनि यो पर्व छठ परमेश्वरी र भगवान् सूर्यको आराधना उपासनाको सम्मिलित पर्व हो ।
यसरी एउटै आराध्य देवलाई पुरुष र स्त्री दुवै संज्ञाले भक्तिभाव प्रकट गर्नुको अभिप्राय सृष्टिको प्राकृतिक स्वरूपप्रति सम्मान दर्शाउनु हो ।
संस्कृतिविद् डा रामदयाल राकेशका अनुसार साम्वपुराणमा आफ्नै पिता श्रीकृष्ण तथा महर्षि दुर्वासाको श्रापस्वरूप कुष्ठरोगबाट पीडित कृष्णपुत्र साम्ब सूर्यको आराधनाले रोगमुक्त भएको चर्चा गरिएको छ ।
त्यसैगरी श्रापबाट पीडित कवि मयुर भट्टले पनि सूर्यको उपासनाबाट स्वस्थ र सुन्दर शरीर पुनः प्राप्त गरेको कथासँग जोडिएर छठ पर्व प्रारम्भ भएको जनविश्वास पनि पाइन्छ ।
महाभारतकालमा द्रोपदीसहित पाण्डवहरू अज्ञातवासमा रहँदा गुप्तवास सफल होस् भनी द्रोपदीले सूर्यको आराधना गरेकाले महाभारतकालदेखि नै छठ पर्वको सुरुवात भएको विश्वास पनि छ । त्यस्तै अत्रि मुनिका पत्नी सती अनुसुइयाद्वारा सर्वप्रथम छठ पूजा गरिएको प्रसङ्ग सूर्य पुराणमा पाइन्छ ।
अस्ताउने र उदाउने दुईटै सूर्यलाई अभिनन्दन गर्नुको अर्थ जीवनमा सुख, दुःख, रोदन र हाँसोलाई समानरूपमा र जीवनकै पाटोका रूपमा लिइनु हो ।
