समाचारमंगलबार, भाद्र २२, २०७२
स्वदेशमा मर्न पाउँ भन्दै शरणार्थीको शान्त प्रदर्शन

तस्वीर: गोपाल गडतौला
स्वदेश फर्कन चाहने सयौं भुटानीले २२ भदौमा पश्चिमझापाको बेलडाँगी शरणार्थी शिविरमा शान्त प्रदर्शन गरेका छन् ।
तेस्रो मुलुक पुनर्वास बन्द गर्न आह्वान गरिएको नारा लेखिएका प्लेकार्ड बोकेका शरणार्थीमध्येकी पुण्यमाता अधिकारीले भनिन्, “म आफ्नो नाभी गाडिएको दक्षिण भुटानको घरबारीमै मर्न चहान्छु ।”
दक्षिण भुटानको सर्भाङमा घरखेत भएका डमलाप्रसाद अधिकारी जीवनको अन्तिम सास फेर्न मात्र भए पनि भुटान जाने अवसर पर्खेको बताँउछन् । भन्छन्, “म पुग्दो खेतखलियान भएको मान्छे, पराई मुलुकमा मजदुरी गर्न जान्न ।”
एकलाखको संख्यामा भुटानी शरणार्थी पुनर्वासमा युरोप, अमेरिका, न्युजिल्याण्ड र अष्ट्रेलिया गइसकेको अवस्थामा भुटान स्वतन्त्र जनमञ्चले यो शान्त प्रदर्शन आयोजना गरेको हो ।
अहिले पूर्वी नेपालका शिविरहरुमा साढे १८ हजार शरणार्थी छन् । जसमध्ये कम्तिमा दशहजार पुनर्वासको प्रकृयामा छन् ।
“हामी थोरै भएपनि भुटान जान चहाने बर्गका मान्छे हौं” मञ्चका नेता हर्कजङ सुब्बा भन्छन्, “हामी भुटानीलाई भुटान फर्किने व्यवस्था मिलाउँदा मात्र न्याय हुन्छ ।”
राष्ट्रसंघीय शरणार्थी आयोगले शरणार्थी समस्या समाधानका तीन विकल्प– स्वदेश फिर्ती, शरणागत मुलुकमै सम्मिलन र तेस्रो देश पुनर्वासमध्ये तेस्रो विकल्पमात्र खोलेकोमा शरणार्थीले आपत्ति जनाउँदै आएका छन् ।
गोपाल गडतौला, झापा
