समाचारबुधबार, भाद्र २३, २०७२

संविधानसभाबाट ५६ सभासदसहितका दलहरु बाहिरिए

हिमालखबर

तराई–मधेसकेन्द्रित असन्तुष्ट १० दलका ५४ सभासद्ले संविधानसभा छाडे पनि कानुनी प्रक्रियामा अवरोध नहुने देखिएको छ, तर संविधानको राजनीतिक वैधतामाथि भने गर्भदेखि नै प्रश्न उठ्ने भएको छ ।

संविधानसभाबाट बाहिरिएकाहरूमा संयुक्त मधेसी मोर्चामा रहेका चार दलका ३४, गच्छदार नेतृत्वको मोर्चाका तीन दलका १८, थरुहट तराई पार्टीका दुई, नेपाल सद्भावना पार्टीको एक र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका एकगरी ५६ सभासद् छन् ।

सभाबाट अहिलेसम्म को–को बाहिरिए ?

राजेन्द्र महतो नेतृत्वको सद्भावनाका ३ सभासद्
संविधानसभाबाट मधेसीका अधिकार सुनिश्चित नहुने भन्दै सबैभन्दा पहिले संविधानसभा छाड्ने दल सद्भावना हो । राजेन्द्र महतो नेतृत्वको सद्भावनाका तीन सभासद्ले संविधानसभामा भाग नलिने मात्र होइन, सदस्यताबाट समेत राजीनामा दिएका छन् । तर, राजीनामा सामूहिक भएकाले स्वीकृत नहुने भएको छ ।

उपेन्द्र यादवको समाजवादी फोरमका १५ सभासद्
उपेन्द्र यादव र अशोक राईको दल एकीकरण भएर बनेको संघीय समाजवादी फोरमका सभासद्ले राजीनामा त दिएका छैनन्, तर संविधानसभा बहिष्कार गर्दै आएका छन् । तराईमा आन्दोलनरत सो दलले संविधानसभामा नफर्कने अठोट लिएको छ ।

महन्थ ठाकुर नेतृत्वको तमलोपाका ११ सभासद्
तराई–मधेसकेन्द्रित दलहरूले संयुक्त लोकतान्त्रिक मधेसी मोर्चामा आबद्ध तमलोपाका ११ सभासद्ले पनि संविधानसभाका बैठक बहिष्कार गर्दै आएका छन् । यो दलका सभासद्हरू पनि आन्दोलन चर्काएर मुख्य दलहरूमाथि दबाब बढाउने रणनीतिसहित मधेसमा छन् ।

महेन्द्र यादव नेतृत्वको तमसपाका ३ सभासद्
मोर्चाको चौथो घटक तराई–मधेस समाजवादी पार्टी पनि संविधानसभाको बैठकमा होइन, तराईको आन्दोलनमा केन्द्रित छ ।

गच्छदार नेतृत्वको फोरम लोकतान्त्रिकका १४ सभासद्
संविधानसभाको प्रक्रिया सुरु हुनासाथ उपेन्द्र यादव नेतृत्वको मोर्चा आन्दोलनमा गए पनि फोरम लोकतान्त्रिकका अध्यक्ष विजय गच्छदार तीन प्रमुख दलसँग मिलेरै संविधान बनाउने प्रयासमा थिए । कांग्रेस–एमालेसँग एमाओवादीको तिक्त सम्बन्ध हुँदा पनि उनीहरुबीच सहमति गराउन गच्छदारले मध्यस्थ गर्न खोजेका थिए । तर सुनसरीदेखि कैलालीसम्म कतै पनि आफ्ना माग सम्बोधन नभएपछि मंगलबार उनले पनि संविानसभा छाडने घोषणा गरे । उनले संविधानसभा बहिस्कार गर्ने विषयमा सभामुखलाई लिखित जानकारी गराएका छन् ।

तराई मधेश केन्द्रित अन्य पाँच दलका ८ सभासद्
अन्य साना दल पनि संविधानसभा बहिस्कार गरेर आन्दोलनमा छन् । शरत्ंसिंह भण्डारीको रामसपाका तीन, गोपला दहिलको थरुहट तराई पार्टीका दुई, राजकिशोर यादवको फोर गणतान्त्रिकका एक, अनिल झाको नेपाल सदभावना पार्टीका एक र रुक्मिणी चौधरीको संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका एक सभासदं्ले तराई–मधेशका अधिकार सुनिश्चित गर्न भन्दै आन्दोलनमा लागेका छन् । रुक्मिणी चौधरीले त प्रस्तावित संविधानमा संशोधन हालेर प्रक्रियामा भाग लिन खोजेकी थिइन् तर पार्टीले निर्देशन दिएपछि मंगलबारबाट उनी पनि आन्दोलनमा गएकी छिन् ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>