समाचारबिहीबार, भाद्र २४, २०७२

थरुहट बाँकेका संयोजक चौधरीको राजीनामा

हिमालखबर

थरुहट संयुक्त संघर्ष समिति बाँकेका संयोजक चन्द्रबहादुर चौधरीले सडक आन्दोलन नगर्ने भन्दै संयोजकको पदबाट राजीनामा गरेका छन् ।

पछिल्लो समय बाँकेको कोहलपुरमा आन्दोलनकारीबाट एक सर्वसाधारणको मृत्यु भएपछि विकसित परिस्थिति र उनी आवद्ध पार्टी एमालेको दबाबका कारण चौधरी संयोजकको जिम्मेवारीबाट पछाडि हटेका हुन् ।

चौधरी एमाले बाँकेका सचिवालय सदस्य तथा लोकतान्त्रिक थारु संघका केन्द्रीय सदस्य समेत हुन् ।

२३ भदौमा विज्ञप्ति जारी गर्दै उनले एमाले बाँकेको टोली थारु समुदायका माग राख्न केन्द्रमा जाने भएकाले आफूले जिम्मेवारीबाट बिदा लिएको उल्लेख गरेका छन् । उनले अब सडक संघर्षमा नजाने तर अधिकारको आन्दोलनलाई भने नछोड्ने उल्लेख गरेका छन् ।

चौधरीले संयोजकको जिम्मेवारीबाट बिदा लिएपछि संयोजक कसलाई तोक्ने भन्नेमा समितिभित्र अन्यौल छ ।

बाँकेमा बन्दको प्रभाव न्यून
अहिले बाँकेका कोहलपुर, नेपालगञ्ज लगायतका बजारमा यातायात, व्यवसाय निर्वाध सञ्चालन भइरहेका छन् ।

मधेशी मोर्चाका कार्यकर्ताले प्रहार गरेको ढुंगा लागेर नौवस्ता २ का करण सिंहको मृत्यु भएपछि बन्दको प्रभाव घटदै गएको हो ।

मृतक करण सिंहको हत्यारालाई कारबाहीको माग गर्दै निकालिएको ठूलो र्‍यालीमा आमहडतालको विरोधमा नारा लागेपछि पनि बन्द प्रभाव कम हुँदै गएको हो ।

सिंहको हत्या गरेको अभियोगमा बाँके प्रहरीले शिवशंकर भाटविरुद्ध कर्तव्य ज्यान मुद्दा दर्ता गरेको छ । प्रहरीले जिल्ला अदालत बाँकेबाट म्याद थप गरेर थप अनुसन्धान गरिरहेको जनाएको छ ।

त्यस्तै सोही घटनामा संलग्न भई अन्य सवारीका साधनहरु तोडफोड गर्ने कार्यमा संलग्न धर्मेन्द्र बर्मा र प्रदीप गडरियाविरुद्ध सार्वजनिक मुद्दा दायर गरिएको बाँके प्रहरीले जनाएको छ ।

केशव राना, बाँके

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>