समाचारबिहीबार, भाद्र २४, २०७२
राप्रपा नेपाल प्रक्रियामा फर्किने संकेत
संविधान निर्माणको जारी प्रक्रियाबाट अलग्गिने घोषणा गरेको राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल प्रक्रियामा फर्कनका लागि सकारात्मक देखिएको छ ।
२४ भदौमा प्रमुख तीन दलका नेता र राप्रपा नेपालका नेताहरुबीच भएको छलफलपछि राप्रपा नेपाल संसदीय दलका प्रमुख सचेतक दीलनाथ गिरीले दलहरूसँगको वार्ता सकारात्मक भएको बताए ।
उनले तीन दलले राप्रपा नेपाललाई संविधान निर्माण प्रक्रियामा निषेध गरेकोले अब देखि त्यसो नगर्ने, तराईमा जारी आन्दोलनलाई सम्बोधन गर्ने प्रतिबद्धतासहित तीन दलले लिखित आह्वान गरेमा केन्द्रीय समिति बैठकबाट पुनर्विचार गर्न सकिने बताए ।
मधेशकेन्द्रित दलहरु संविधान निर्माण प्रक्रियाबाट बाहिरिएसँगै संविधानसभाको चौथो ठूलो दल राप्रपा नेपालले पनि प्रक्रियाबाट अलग भएको घोषणा गरेपछि संविधान निर्माण प्रक्रिया असहज भएको थियो ।
छलफलपछि राप्रपा नेपालका अध्यक्ष कमल थापाले तीन राजनीतिक दलले संविधान निर्माण प्रक्रियामा निषेध गरेको र तराईमा आन्दोलन भइरहेको स्थितिमा संविधान जारी भए पनि त्यसले केवल द्वन्द्व निम्त्याउने देखिएकाले आफूहरु प्रक्रियाबाट बाहिरिएको बैठकलाई जानकारी गराएको बताएका थिए ।
नेपाली कांग्रेसका उपसभापति रामचन्द्र पौडेलले दलहरुबीचका मतभेदलाई कायमै राखेर भए पनि संविधान बनाउने अभियानमा एकै ठाउँमा बस्न राप्रपा नेपालसँग आग्रह गरिएको जानकारी दिए ।
बैठकपछि नेपाली कांग्रेस सभापति सुशील कोइराला, एमाले अध्यक्ष केपी ओली र एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले राप्रपा नेपाललाई संविधान निर्माण प्रक्रियामा सहभागी हुन आह्वान गर्दै पत्र समेत पठाएका छन् ।
