समाचारबिहीबार, भाद्र २४, २०७२
टीकापुर घटनामा पूर्व लडाकुको संलग्नताः आयोग
राष्ट्रिय मानव अधिकार आयोगले कैलालीको टीकापुरमा भएको घटनामा माओवादीका पूर्व लडाकुहरुको समेत संलग्नता रहेको जनाएको छ ।
आयोगकी प्रवक्ता मोहना अन्सारीले हस्ताक्षर गरेको विज्ञप्तिमा एसएसपी लक्ष्मण न्यौपानेसहित ८ जना प्रहरीको प्रदर्शनकारीले घरेलु हतियार प्रयोग गरी हत्या गरेको पाइएको भन्दै आन्दोलनमा कैलालीको जोशीपुरका पूर्वमाओवादी लडाकुहरुको समेत संलग्नता रहेको उल्लेख छ ।
“सामाजिक सदभाव बिग्रन नदिन थरुहटका कार्यकर्तालाई आग्रह गर्दैगर्दा एसएसपी न्यौपानेसहित ८ जनालाई घरेलु हतियार भाला, खुकुरी र बन्चरो प्रयोग गरेर हत्या गरिएको पाइएको छ,” विज्ञप्तिमा उल्लेख छ ।
त्यसैगरी आफनै घरआँगनमा बसिरहेका दुधे बालकलाई खेतबारीबाट गोली प्रहार गरी हत्या भएको पनि आयोगले जनाएको छ ।
जिल्ला प्रशासन कार्यालय कैलालीमा भदौ ६ गते भएको सर्वपक्षीय भेलाले आन्दोलन शान्तिपूर्ण र मर्यादित बनाई सामाजिक सद्भाव कायम गर्ने भनी प्रशासन र आन्दोलनकारीवीच सहमति भए पनि सो सहमति कार्यान्वय नभएको विज्ञप्तिमा उल्लेख छ ।
आयोगले घट्नाबारे थप अनुसन्धान भइरहेको पनि जनाएको छ ।
यो पनि पढौं: अप्रेशन टीकापुर
