समाचारशुक्रबार, भाद्र २५, २०७२
कर्फ्यूको अवज्ञा गर्दै जनकपुरमा प्रदर्शन
विहानैबाट स्थानीय प्रशासनले जारी गरेको कर्फ्यूको अवज्ञा गर्दै मधेशी मोर्चाका कार्यकर्ताहरुले जनकपुरमा प्रदर्शन गरिरहेका छन् ।
प्रदर्शनकारीलाई नियन्त्रणमा लिन प्रहरीले हवाई फायर र अश्रुग्यास प्रहार गरिरहेको छ । जनकपुरको महावीर चोक, विश्वकर्मा चोक, राम चोक, भानुचोक, रमानन्दचोक, बजरंगचोकमा प्रदर्शनकारीले कर्फ्यूको अवज्ञा गरेका छन् ।
‘चलु जनकपुर, भरु जनकपुर’नाराका साथ संयुक्त मधेशी मोर्चाले गाउँगाउँबाट सर्वसाधरणलाई जनकपुरमा ल्याएको छ । गाउँगाउँबाट घरेलु हतियारसाहित मान्छे ओसार्न थालेपछि स्थानीय प्रशासनले आज विहान ६ बजेदेखि जनकपुरमा कर्फ्यू आदेश जारी गरेको थियो ।
यसैबीच कर्फ्यूको अवज्ञा गर्दै मोर्चाले २ बजेपछि जुलुस निकाल्ने तयारी गरेको छ । प्रदर्शनलाई ध्यानमा राखी सुरक्षा प्रबन्ध मिलाइएको धनुषाका प्रहरी उपरीक्षक गणेशबहादुर थापाले जानकारी दिएका छन् ।
-ईश्वरचन्द्र झा, जनकपुर
