समाचारशनिबार, भाद्र २६, २०७२
राप्रपा नेपाल संविधान निर्माण प्रक्रियामा फर्कने
संविधान निर्माण प्रक्रियाबाट अलग्गिएको घोषणा गरेको राप्रपा नेपाल पुन: प्रक्रियामा फर्कने भएको छ ।
२६ भदौमा बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले संविधान निर्माण प्रक्रियामा सहभागी हुने निर्णय गरेको हो ।
बैठकमा अध्यक्ष कमल थापाले प्रस्तुत गरेको संविधान निर्माणको बाँकी प्रक्रियामा सहभागी हुने प्रस्ताव सर्वसम्मतले पारित गरेको नेता मोहन श्रेष्ठले जानकारी दिए ।
तीन प्रमुख दलले आफूलाई संविधान निर्माण प्रक्रियाबाटै निषेध गरेको भन्दै राप्रपा नेपालले २३ भदौमा संविधान निर्माणको बाँकी प्रक्रियाबाट अलग हुने घोषणा गरेको थियो।
तर, त्यसपछि तीन दलका शीर्ष नेताहरुसँग भएको छलफल र तीन दलका तर्फबाट संविधानसभामा फर्कन संयुक्त पत्र पठाइएपछि राप्रपा नेपाल प्रक्रियामा फर्किने टुंगोमा पुगेको हो
