समाचारशनिबार, मंसिर २, २०६९
विपक्षीलाई नागरिक अगुवाले के सुझाव दिए ?
नेपाली कांग्रेस, नेकपा एमाले, राष्ट्रिय प्रजातन्त्र पार्टी, राष्ट्रिय जनशक्ति पार्टीलगायतका १५ दलहरुले शुरु गरेको चरणबद्ध आन्दोलनका बारेमा नागरिक समाजसँगको अतरक्रियामा उनीहरुले विपक्षीको आन्दोलन निर्वाचन केन्द्रित हुनुपर्ने बताएका हुन् ।
२ मंसीरमा कांग्रेस केन्द्रीय कार्यालय सानेपामा भएको छलफलमा नागरिक अगुवाहरुले सत्ताका लागि नभई निर्वाचनका लागि आन्दोलन केन्द्रित भएको स्पष्ट सन्देश दिन पनि सुझाव दिए ।
छलफलमा नागरिक अगुवाहरु हरिहर दाहाल, प्रा डा वीरेन्द्र मिश्र, शम्भु थापा, रामेश्वर उपाध्याय, कनकमणि दीक्षित, सुवोध प्याकुरेललगायतले स्पष्ट दृष्टिकोण बनाएर नयाँ निर्वाचन र राष्ट्रिय सरकारका लागि सहमति कायम गर्ने उद्देश्यका साथ आन्दोलन तय गर्न सुझाव दिए ।
नागरिक समाजका अगुवा दमननाथ ढुङ्गानाले लोकतन्त्रको रक्षा र सर्वसत्तावादलाई परास्त गर्नका लागि विपक्षीले थालेको आन्दोलनको मार्ग स्पष्ट हुनुपर्ने भन्दै स्पष्ट कार्यदिशा तय गरी सही गन्तव्यमा पुग्नुपर्नेमा जोड दिए ।
छलफलको प्रारम्भमा कांग्रेसका उपसभापति रामचन्द्र पौडेलले आन्दोलनका बारेमा जानकारी गराउँदै सरकारको सर्वसत्तावादलाई परास्त गरी सहमतिको सरकार गठन गर्न र मुलुकलाई निर्वाचनका माध्यमबाट निकास दिनका लागि आन्दोलन थालिएको जानकारी गराएका थिए ।
नागरिक समाजका अगुवाहरुको सुझावपछि कांग्रेसका सभापति सुशील कोइरालाले वर्तमान सत्ता गठबन्धनले मुलुकमा सर्वसत्तावाद लादेर सत्ता हाँक्न लागेकाले आन्दोलन थालिएको र सो आन्दोलनलाई नयाँ निर्वाचनमा केन्द्रित गराइने बताए ।
एमालेका अध्यक्ष झलनाथ खनालले नागरिक समाजका प्रतिनिधिबाट आएका सुझावलाई शिरोधार्य गरी विगतका कमीकमजोरी सच्याएर अगाडि बढ्न तयार भएको र आन्दोलनमा सबै तह र तप्काको सहयोग हुने विश्वास व्यक्त गरे ।
राष्ट्रिय जनशक्ति पार्टीका अध्यक्ष सूर्यबहादुर थापाले नयाँ निर्वाचनबाटै मुलुकको लोकतन्त्रलाई संस्थागत गरी अगाडि बढ्न र चाँडो सहमतिमा पुग्न आन्दोलनले एउटा स्पष्ट दिशा बनाउने चर्चा गरेका थिए ।
