समाचारआइतबार, मंसिर ३, २०६९
सरकारले बजेट ल्याउन सकेन, सहमति कायम गर्न राष्ट्रपतिको आग्रह
सत्तारुढ गठबन्धन मोर्चाको बैठकले विपक्षी दलहरुको सहमति नभए पनि बजेट ल्याउने निर्णय गरेपछि मन्त्रिपरिषदको बैठकले निर्णय गरी ३ मंसीरमा राष्ट्रपति समक्ष बजेट पेश गरिने सरकारका मन्त्रीहरुले जानकारी गराएका थिए ।
बजेट ल्याउने निर्णय बारेमा जानकारी गराउन शीतलनिवास पुगेका प्रधानमन्त्री बाबुराम भट्टराईलाई राष्ट्रपति रामबरण यादवले दलहरुको सहमतिबिना ल्याउने बजेट आफूले स्वीकृत नगर्ने बताएपछि सरकारले बजेट ल्याउन नसकेको हो ।
“प्रधानमन्त्री र राष्ट्रपतिबीच बजेट र राजनीतिक संकटको निकासका बारेमा छलफल भयो, राष्ट्रपतिले दलहरुको सहमतिमै बजेट ल्याउन भनेपछि आज बजेट पेश हुँदैन,” राष्ट्रपतिका प्रेस सल्लाहकार राजेन्द्र दाहालले जानकारी दिए । राष्ट्रपति यादवले तीन प्रमुख दलहरु र मधेशी मोर्चाका शीर्ष नेताहरुलाई ४ मंसीरमा फेरि बोलाएको पनि दाहालले बताए । यसअघि ३ मंसीर बिहान राष्ट्रपति र दलका शीर्ष नेताहरुबीच शीतलनिवासमा छलफल भएको थियो ।
दलहरुको सहमतिबिना ल्याउने बजेटलाई राष्ट्रपतिले हरियो झण्डा नदेखाएपछि ३ मंसीरमा बस्ने भनिएको मन्त्रिपरिषदको बैठक पनि स्थगित भएको छ ।
