समाचारसोमबार, मंसिर ४, २०६९
राष्ट्रपतिले ७ गतेको समयसीमा तोके
प्रमुख चारदलका नेताहरु र प्रधानमन्त्री समेतलाई ४ मंसीर बिहान आफ्नै कार्यालय शीतलनिवासमा बोलाई मुलुकको वर्तमान संकटको निकासबारे छलफल गरेका राष्ट्रपतिले ७ मंसीरभित्रै दलहरुबीच सहमति नभए आफू सक्रिय हुने संकेत दिएको छलफलमा सहभागी उपप्रधानमन्त्री विजयकुमार गच्छदारले जानकारी दिए ।
मधेशी जनाधिकार फोरम लोकतान्त्रिकका अध्यक्षसमेत रहेका गच्छदारले भने, “सबै विषयमा छलफल भयो, राष्ट्रपतिले ७ गतेसम्म सहमति गर्न समय सीमा दिनुभएको छ । ”
छलफलमा सहभागी सबै नेताहरु अहिलेकै प्रमुख दलहरुमध्ये कुनै एकको नेतृत्वमा सरकार बनाउन सहमत भए पनि त्यसको नेतृत्व कसले गर्ने भन्नेमा कुरा नमिलेको पनि गच्छदारले वताए ।
त्यसैगरी बैठकमा सहभागी नेपाली कांग्रेसका सभापति सुशील कोइराला र एमाले अध्यक्ष झलनाथ खनालले सहमतिमै संकटको निकास खोजिनु पर्ने बताए भने एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल र प्रधानमन्त्री बाबुराम भट्टराई कुनै प्रतिक्रिया नै नदिई बाहिरिएका थिए ।
७ मंसीरका लागि संविधान सभाको नयाँ निर्वाचन घोषणा गरेको बाबुराम भट्टराई नेतृत्वको सरकारले चुनाव गराउन नसक्ने भएपछि सरकारको नैतिकतामाथि पनि प्रश्न उठेको विपक्षी दलहरुले वताउँदै आएका छन् । त्यसैले पनि राष्ट्रपति यादवले ७ मंसीरको समयसीमा तोकेका हुन् ।
अब तीनदिनभित्रमा बजेट, सरकार र नयाँ निर्वाचनका विष्यमा दलहरुले सहमति जुटाउन सकेनन् भने राष्ट्रपति यादवले सहमतिको सरकारका लागि दलहरुलाई आह्वान गर्ने शीतलनिवास स्रोतले बताएको छ ।
