समाचारसोमबार, मंसिर ४, २०६९
आज छठ, अस्ताउँदो सूर्यलाई अर्घ दिइँदै
जनकपुरको ऐतिहासिक गङ्गासागर, धनुषसागर, अरगजासर लगायतका पोखरीहरुमा आधारातिदेखि नै श्रद्धालुहरु आ–आफनो पूजाको सामग्री लिएर घाटमा आएका छन् । अर्घ दिन घाटमा आफनो ठाउँ सुरक्षित गर्नका लागि आधा रातिदेखि नै श्रद्धालुहरु पुजन सामग्री लिएर घाटमा आएका हुन् ।
स्थानीय युवा क्लबहरूले जनकपुरका पोखरीहरु बेहुली झैँ सजाएका छन् । पारिवारिक सुख शान्ति, कल्याणका साथै मनोकांक्षा पूरा होस् भन्ने उद्देश्यले श्रद्धापूर्वक मनाइने छठ पर्वको अवसरमा तराईका विभिन्न नदी तलाउमा श्रद्धालुहरुको भीड लाग्ने गर्दछ ।
छठ मनाइँदै गरिएको जनकपुरका दर्जनौँ पोखरीहरुमा बजाइएका छठका लोकगीतहरूले जनकपुरमा भक्तिमय वातावरण बनेको छ ।
आज पवित्र जलाशयमा नुहाएर ठेकुवा, पुरी, पिठोको सख्खरसहितको लड्डु विभिन्न प्रकारका फलफुल, उखु, नरिवलबेसारको बोट र मिष्ठान्नलाई ढाकी, नांग्लो आदिमा राखेर नदी, पोखरी, नहर र जलाशयको छेउमा गएर अस्ताउँदै गरेको सूर्यको पूजा गर्ने परम्परा छ । व्रतालुले पानीमा बसेर भक्तिपूर्वक पूजा गरी अस्ताएको सूर्यलाई अर्घ दिएर दर्शन गर्छन् ।
रातभर भजन किर्तनसहित पुजाआजा गरि भोलिपल्ट सप्तमी तिथिमा उदाउदो सूर्यलाई दोस्रो अर्घ दिएर यो पर्व समापन गरिन्छ ।
छठ पर्व अब काठमाडौं उपत्याका लगायत देशका अन्य पहाडी भेगमा समेत श्रद्धापूर्वक मनाउन थालिएको छ । छठ पर्वको अवसरमा आज सरकारले सार्वजनिक बिदासमेत दिएको छ ।
बटुकनाथ झा, जनकपुर
