समाचारसोमबार, मंसिर ४, २०६९
पर्यटक चराहरु आउन छोडे
हिउँद लाग्दै गर्दाको भित्री मधेश र मधेशको न्यानो आकाशमा लहरै उड्ने यि चराहरुले दिने दृष्टि सुख र यससँगै जोडिएका मान्यताहरु यहाँका ताल, सिमसार क्षेत्र र तटीय क्षेत्रमा बढ्दो विनासले कमी हुँदैछ ।
यस्ता चराहरुले मान्छेलाई रमाइलो पार्ने मात्र नभई सम्पूर्ण पर्यावरणीय चक्रलाई पनि सन्तुलमा राख्छन् । केही समयका लागि मात्रै आउने भएकाले पर्यटक चरा समेत भनिएका यस्ता चरा नआउनु यहाँको पर्यावरणीय विनासको असरले गर्दा हो ।
महाकाली नदीमा भारतले शारदा ब्यारेजबाट सम्झौता अनुसार पुलभन्दा तलको क्षेत्रमा छाड्नुपर्ने पानी नछाडेपछि तीन वर्षता साइबेरियन चराहरुका आहार र विहार प्रभावित भएको छ । त्यस्तै शुक्लाफाँटा वन्यजन्तु आरक्षभित्र रहेका ताल, सिमसार क्षेत्र र अन्य ताल र नदीहरुमा पनि पानी सुक्न थालेपछि प्रतिवर्ष चराको आगमनमा कमी आएको छ ।
नेपालको उत्तरी भाग, चीन, मङ्गोलिया, साइबेरिया क्षेत्रबाट यस्ता चरा सिमसार क्षेत्रमा आहार विहारका लागि आउने गरेको वातावरण संरक्षणको क्षेत्रमा क्रियाशील डुठ्ठा राना बताउँछन् । आगन्तुक चराहरुले यहाँका सिमसार क्षेत्रमा गुँड लगाएर बच्चा हुकाई गर्मी याम शुरु हुनासाथ पुरानै ठाउँमा र्फकने गरेको उनले बताए ।
चराविज्ञ डा हेम सागर बरालका अनुसार हिउँदका बेला साइबेरिया क्षेत्रमा चिसो अत्यधिक हुने र खानेकुराको कमी हुने भएकाले चरा नेपालतर्फ आउने गरेका हुन् तर, यहाँ पनि आहार र बास नपाउने भएपछि उनीहरु आउन छाडेका छन् ।
कञ्चनपुरमामात्रै ३० प्रजातिका साइबेरियन हाँसहरु भित्रिने गरेको भएपनि अहिले ती हाँसको सङ्ख्यामा कमी आएको बराल बताउँछन् ।
राससको सहयोगमा
