समाचारमंगलबार, आश्विन १२, २०७२
भट्टराईले भाषण गरे लगत्तै मञ्च जलाइयो, रामचन्द्र झामाथि हातपात

तस्वीर: विक्रम राई/हिमालखबर, जनकपुरबाट
मधेश आन्दोलनप्रति ऐक्यवद्धता जनाउन जनकपुर पुगेका बाबुराम भट्टराईको विरोधमा प्रदर्शन हुन थालेपछि उनले प्रहरी घेराभित्र रही भाषण गरेका छन् ।
स्थानीय गोपाल धर्मशाला परिषरभित्र भएको कार्यक्रममा बाबराम बोल्दै गर्दा बाहिर भने प्रदर्शनकारीले उनीविरुद्ध प्रदर्शन गरिरहेका थिए ।
बाबुराम भट्टराई र एमाओवादीका सांसदहरु रामचन्द्र झा र प्रभु साहले संवोधन गरेको छोटो कार्यक्रम सक्काएर भट्टराई फर्केलगत्तै प्रदर्शनकारीहरुले मञ्च तोडफोड गर्नुका साथै आगजनी समेत गरेका छन् ।
मधेश जनआन्दोलन संघर्ष समितिले आयोजना गरेको कार्यक्रमका सञ्चालक समेत रहेका रामचन्द्र झा माथि पनि प्रदर्शनकारीद्वारा हातपात भएको छ ।
भट्टराई फर्कंदै गर्दा एयरपोर्ट चोकमा उग्र प्रदर्शन हुन थालेपछि प्रहरीले केही राउण्ड हवाई फायर समेत गरेको छ ।
बाबुरामलाई जनकपुरमा स्वागतको वातावरण मिलाउन केही दिनअघि देखि नै जनकपुरमा रहेर प्रयास गरिरहेका रामचन्द्र झा, रामकुमार शर्मा लगायतले प्रयास गरे पनि उनीहरुको प्रयास सफल भएन् ।
आन्दोलनकारीले जनकपुरमा भट्टराईले संविधान जलाउनुपर्ने माग राखेकोमा बाबुरामले अस्वीकार गरेपछि उनीविरुद्धको प्रदर्शन उग्र भएको हो ।
