समाचारसोमबार, मंसिर ४, २०६९

राष्ट्रपतिले म्याद तोक्नु उचित: विपक्षी दलहरु

हिमालखबर

रिपोर्टर्स क्लबमा ४ मंसीरमा आयोजित साक्षात्कार कार्यक्रममा सहभागी कांग्रेस, एमाले र फोरम नेपालका प्रभावशाली नेताहरुले मुलुक संकटमा परेका बेला राष्ट्रपति टुलुटुलु हेरेर मात्रै बस्न नहुने तर्क गरे ।

साक्षात्कारमा मधेशी जनअधिकार फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले प्रधानमन्त्री बाबुराम भट्टराई नेतृत्वको सरकारलाई राष्ट्रपति मार्फत वा आन्दोलनबाटै घोक्रेठ्याक लगाएर निकाल्नुको विकल्प नभएको भन्दै मुलुक संकटमा परेको बेला राष्ट्रपति टुलुटुलु टेलिभिजन र पत्रिका हेरेर बस्न नहुने बताए ।

उनले भने, “राष्ट्रपतिले सहमतिको सरकार आव्हान गरेर नयाँ सरकार निर्माण गर्न भूमिका निर्वाह गर्नु पर्छ । वर्तमान सरकारलाई अबैधानिक भईसकेको भन्दै यादवले सरकारले बजेट ल्याउनै नसक्ने ठोकुवा गरे ।  यादवले थपे, “सरकारले जवरजस्ती बजेट ल्याए राष्ट्रपतिले स्वीकार्नु पर्छ भन्ने कुनै बाध्यता छैन ।”

संघीयता, समावेशिता र प्रादेशिक स्वायत्तताको कारण संविधान सभालाई तुहाइएको दावी गर्दै उनले त्यसको सुनिश्चित्ताका लागि पनि नयाँ आन्दोलनको आवश्यकतामा जोड दिए ।

साक्षात्कारका अर्का सहभागी नेकपा एमालेका सचिव शंकर पोखरेलले १४ जेठपछि नै राष्ट्रपतिले नयाँ सरकारका लागि दलहरुलाई आह्वान गरिसक्नु पर्ने भन्दै अहिले ै ढिलै भए पनि राष्ट्रपतिको कदम सही भएको बताए ।

उनले दलहरुबीच सहमति हुन नसके तत्कालिन संविधान सभामा प्रतिनिधित्व गर्ने बहुमत दलको सहमतिमा नयाँ सरकार गठन गर्नु पर्ने धारणा राखे । उनले प्रधानमन्त्री बाबुराम भट्टराई पदबाट नहटेसम्म कुनै पनि विषयमा सहमति हुनै नसक्ने बताए ।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य अर्जुन नरसिंह केसीले मुलुक अराजकता र संकटमा परेको बेला राष्ट्रपति मुकदर्शक बनेर बस्न नहुने भन्दै यसबेला राष्ट्रपतिको भूमिका महत्वपूर्ण भएको विचार व्यक्त गरे ।

केसीले राष्ट्रपतिले संविधानको संरक्षकका नाताले  संविधानको मर्यादाभित्र रहेर कदम चाल्नु पर्ने बताए । उनले वर्तमान सरकारको नैतिक र बैधानिक हैसियत समाप्त भइसकेको दाबी गर्दै जारी संकटबाट मुलुकलाई निकास दिन सरकारको बहिर्गमन र सहमतिको नयाँ सरकार गठन गर्नुपर्ने धारणा राखे ।

नेता केसीले जातजातिबीच द्वन्द्व ल्याउने संघीयता कुनै पनि हालतमा नस्विकार्ने स्पष्ट पार्दै अब हुने संविधानसभाको निर्वाचन सँगै एकल जातीय वा साझा पहिचान सहितको संघीयताका विषयमा पनि मतदान गराउनु पर्ने जिकिर गरे ।

कार्यक्रममा एकीकृत नेकपा माओवादीका नेता अमिक शेरचनले राष्ट्रपतिले सरकार हटाउने र नयाँ गठनकोलागी आब्हान गर्ने संबैधानिक हैसियत नराख्ने दावी गर्दै त्यसो गरे मुलुक झनै संकटमा फस्ने चेतावनी दिएका थिए  ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>