समाचारसोमबार, आश्विन १८, २०७२
‘भारतले भन्यो– जे मन लाग्छ त्यही गर’– परराष्ट्र स्रोत (अपडेट)
भारतका लागि नेपाली राजदुत दीपकुमार उपाध्यायले परराष्ट्र मन्त्रालयमा गराएको जानकारी अनुसार भारतले ‘आफ्नो चासो अनुसार संविधान संशोधन नभएसम्म नाकाबन्दी नखुल्ने’ बताएको छ ।
परराष्ट्रको उच्च स्रोतका अनुसार १८ असोज दिउँसो भारतीय विदेशमन्त्रालयमा बोलाइएका राजदुत उपाध्यायलाई मन्त्रालयका अधिकारीहरुले संविधानमा संशोधनका लागि यसअघि मिडियाबाट सार्वजनिक सातबुँदे प्रस्तावलाई नै आधिकारीक मान्न र सम्बोधन गर्न भनेका थिए ।
दिल्लीस्थित नेपाली दुतावासका डेपुटी प्रमुख कष्ण ढकाल, कलकत्तास्थित महाबाणीज्य दूत चन्द्र घिमिरेसहितको राजदूत उपाध्यायको टोलीसँग भारतीय विदेश मन्त्रालयका ज्वाइन्ट सेक्रेटरी नर्थ अभय ठाकुरसहितका अधिकारीहरुले वार्ता गरेका थिए ।
भारतीय समाचार संस्था प्रेस ट्रष्ट इण्डियालाई एक दिन अघि मात्र ‘भारतले नाकाबन्दी नखोले चीनबाट पेट्रोलियम पदार्थ ल्याउने’ भनेर अन्र्तवार्ता दिएका राजदूत उपाध्यायलाई भोलीपल्टै भारतीय विदेश मन्त्रालय अधिकारीहरुले ‘विशेष बोलाहट’ (समन) गरेका हुन् । “तपाईंहरुले अन्य देशबाट पेट्रोलियम पदार्थ ल्याउँछौं भन्दै भाषण र अन्तर्वार्ता दिइरहनुभएको छ, जे गर्न सक्नु हुन्छ गर्नुस्” राजदूत उपाध्यायलाई उद्धृत गर्दै काठमाडौंस्थित परराष्ट्र मन्त्रालय स्रोतले भन्यो ।
यद्यपि, राजदुत उपाध्यायले हिमालखबरसँग भने, “नेपालमा आएका समाचारहरुजस्तो कुरा भने होइन ।” उनले भने, “नेपाली जनताले दुःख नपाऊन् भनेर तपाईंहरुले दिएको आश्वासन पुरा भएन भनेर मैले कुरा राखें, उहाँहरुले परिणाम देखिन्छ, पर्खनुस् भन्नुभो ।”
राजदुत उपाध्यायसँग गरिएको व्यवहारबारे प्रश्न गर्दा उपाध्यायले भने, “मेरै भनाई राख्न खोज्नुभएको हो भने त्यस्तो अप्रिय व्यवहार, कुराकानी भएको छैन ।”
