समाचारमंगलबार, मंसिर ५, २०६९
राष्ट्रपति र दाहालबीच बजेट विषयमा छलफल
बिहान राष्ट्रपति कार्यालय शीतल निवास पुगेका अध्यक्ष दाहाल र राष्ट्रपति यादवका बीचमा सरकारले ल्याउन लागेको बजेट, मुलुकमा जारी संकट समाधान लगायतका विषयमा छलफल भएको एमाओवादी प्रवक्ता अग्नी सापकोटाले जानकारी दिएका छन् ।
सरकारले विपक्षी दलहको विरोध हुँदाहुँदै पनि राष्ट्रपति समक्ष बजेट अध्यादेश सिफारिस गर्ने तयारी गरिरहेका बेला एमाओवादीका अध्यक्ष दाहालले राष्ट्रपतिलाई भेटेका हुन् ।
दलहरुका वीचमा सहमति नभए पुरानै बजेट ल्याउने दाहालले राष्ट्रपतिलाई जानकारी गराए पनि जवाफमा राष्ट्रपतिले दलहरुसँग सहमति गरेर मात्रै वजेट अध्यादेश ल्याउन आग्रह गरेका थिए ।
यसअघि पनि राष्ट्रपतिले दलहरुको सहमतिमा मात्रै बजेट ल्याउन आग्रह गरेकाले सरकारले बजेट अध्यादेश पारित गर्न गरेको तयारी पछि सर्दै गएको छ ।
विपक्षी दलहरुले भने सहमतिविना वर्तमान सरकारले बजेट ल्याएमा राष्ट्रपतिले अनुमोदन गर्न नहुने बताउँदै आएका छन् ।
