समाचारशनिबार, कार्तिक ७, २०७२
चीनबाट इन्धन आयात गर्ने सरकारको तयारी
भारतले एकमहिनादेखि गरेको नाकाबन्दीका कारण मुलुकमा इन्धनको चर्को संकट भएका बेला सरकारले चीनबाट इन्धन ल्याउने तयारी गरेको छ ।
नेपाल आयल निगम र चीनको चाइना नेशनल पेट्रोलियम कर्पोरेशनबीच दुई–तीन दिनमै सम्झौता हुने र सम्झौता लगत्तै चीनबाट पेट्रोलियम पदार्थ आयात गरिने वाणिज्य तथा आपूर्ति मन्त्रालय स्रोतले बताएको छ ।
अहिले परराष्ट्र मन्त्रालयले इन्धन सम्झौताका लागि मिति तय गर्न पत्राचार गरेको छ, चिनियाँ पक्षबाट मिति तय भएको खबर आएलगत्तै वाणिज्य तथा अापूर्ति मन्त्रालाय, परराष्ट्र मन्त्रालय, अर्थ मन्त्रालय र अायल निगमका अधिकारीहरु सम्मिलित टोली बेइजिङ गएर सम्झौतामा हस्ताक्षर गर्ने छ ।
उक्त सम्झौता भएलगत्तै पहिलो खेपमा केरुङ नाका हुँदै एक हजार मेट्रिक टन पेट्रोल चीनले अनुदानमा उपलब्ध गराउने भएको छ ।
यस विषयमा चिनियाँ राजदूत उ चुन्ताई र प्रधानमन्त्री केपी शर्मा ओलीबीच समेत सहमति भइसकेको प्रधानमन्त्री कार्यालय स्रोतले बतायो ।
स्रोतका अनुसार चीनसँग इन्धन आयात सम्झौता भएपछि निजी कम्पनीहरुलाई समेत इन्धन आयातको इजाजत दिइने छ । सरकारले केही दिनअघि इन्धन आयातका लागि गरेको ग्लोबल टेन्डरमा केही कम्पनीहरुले चीनबाट इन्धन आयात गर्न चासो देखाएका थिए भने नेपाली कम्पनीले चीनको न्यामलबाट ग्यास आयातका लागि सरकारको स्वीकृति खोजेका थिए ।
नेपाल आयल निगम र चाइना नेशनल पेट्रोलियम कर्पोरेशनबीच सम्झौता भएपछि ती कम्पनीहरुका लागि समेत इन्धन आयातका लागि बाटो खुल्ने छ ।
यसैबीच उपप्रधान एवम् परराष्ट्रमन्त्री कमल थापाले पनि इन्धनको अभावलाई चाडै हटाउन निजी क्षेत्रको सहयोगमा अन्य मुलुकबाट इन्धन आपूर्तिका लागि काम शुरु भइसकेको बताएका छन् ।
७ कात्तिकमा व्यवस्थापिका संसदको बैठकमा बोल्दै मन्त्री थापाले चीनबाट तेल ल्याउन लागिएको जानकारी संसदलाई दिएका हुन् ।
