समाचारआइतबार, कार्तिक ८, २०७२

मोर्चाद्वारा विभिन्न ठाउँमा आगजनी र तोडफोड

हिमालखबर

लहानमा मोर्चाका कार्यकर्ताले आगो लगाएपछि क्षतिग्रस्त भएको मोटरसाइकल । तस्वीर: दिलिपकुमार सिंह

लहानमा मोर्चाका कार्यकर्ताले आगो लगाएपछि क्षतिग्रस्त भएको मोटरसाइकल । तस्वीर: दिलिपकुमार सिंह

मधेशी मोर्चाका कार्यकर्ताले महोत्तरी, सप्तरी, सिरहा, रौतहट र वीरगञ्जका विभिन्न ठाउँमा सवारी साधन, इन्धन, उपभोग्य सामानमा आगो लगाउनुका साथै कृषि मल समेत नष्ट पारेका छन् ।

महोत्तरीको मटिहानीमा मधेशी मोर्चाका कार्यकर्ताले भारतबाट ल्याइएको लाखौँ मूल्य बराबरको मालसामान जलाएका छन् ।

७२ दिनदेखिको मधेश बन्द र ३१ दिनदेखिको नाकाबन्दीका बेला घर खर्च तथा खेतबारीमा राख्नका लागि ल्याइएका दर्जनौँ बोरा मल, खाद्यान्न, तेल, मसलालगायत वस्तु आन्दोलनकारीले खोसेर बाटोमा फाली आगो लगाएका हुन् ।

त्यस्तै भारतबाट मोटरसाइकलमा ल्याइएको पेट्रोल र सिँचाइ तथा जेनेरेटर सञ्चालनका लागि ल्याइँदै गरेको सयौँ लिटर डिजल पनि आन्दोलनकारीले खोसेर जलाएको तथा तरकारी, फलफूल, दूधलगायत वस्तु भुइँमा फ्याकेर र पोखेर नष्ट गरेका थिए ।

यसअघि नै मधेशका कृषकहरुले सिंचाई र कृषी औजार सञ्चालनका लागि ल्याइएको अत्यावश्यक इन्धन नष्ट नगर्न आन्दोलनकारीसँग आग्रह गर्दै आएका छन ।

सप्तरीमा इन्धन पोखेर आगजनी
मोर्चाका कार्यकर्ताले सप्तरीको भारदहमा गुडिरहेको एम्बुलेन्स र मोटरसाइकलबाट एक सय लिटरभन्दा बढी पेट्रोलियम पदार्थ झिकेर सडकमै आगो लगाएका छन् ।

विराटनगरबाट काठमाडौँतर्फ बिरामी लिएर जाँदै गरेको नं खुल्न नसकेको एम्बुलेन्समा राखिएको पेट्रोल र डिजल झिकेर सडकमै पोखी आगो लगाएको स्थानीयवासी अशोक माझीले बताए ।

यस्तै मोर्चाका कार्यकर्ताले सप्तरीकै पोर्ताहा र कोसी ब्यारेजमा पनि भारतको भीमनगरबाट मोटरसाइकलमा ल्याइँदै गरेको डिजल र पेट्रोल झिकेर सडकमा पोखिदिएका छन् ।

राजविराजलगायत अधिकांश ठाउँमा कार्यकर्ताले बजार, पसल शिक्षण संस्था, उद्योग, कलकारखाना, यातायात ठप्प पारेका छन् ।

वीरगञ्जमा पनि आगजनी
बन्दको अवज्ञा गरी पेट्रोलियम पदार्थ ओसारेको आरोप लगाउँदै आन्दोलनकारीले ८ कात्तिक बिहान वीरगन्जको पिपरामा एउटा मोटसाइकलमा आगजनी गरेका छन् ।

मोटरसाइकलमार्फत पेट्रोल ढुवानी गरेको भन्दै आन्दोलनकारीले वीरगन्ज उपमहानगरपालिका–१७ पिपरा चोकमा ना१३प १०२ नंको मोटरसाइकलमा आगजनी गरेका हुन् ।

आगजनीबाट मोटरसाइकल पूर्ण रुपमा जलेर क्षतिग्रस्त भएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

वीरगन्ज उपमहानगरपालिका–२ छपकैया निवासी सागिर अन्सारी काम गर्न कारखानातर्फ जाने क्रममा आन्दोलनकारीले मोटरसाइकलमा आगजनी गरेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक होवेन्द्र बोगटीले जानकारी दिए ।

यसैगरी आन्दोलनकारीले आजै वीरगन्जको सानो पिपरा भन्ने स्थानमा ना१२प १२८२ नंको मोटरसाइकलमा समेत तोडफोड गरेका छन् ।
आगजनी तथा तोडफोडमा संलगन व्यक्तिको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

त्यस्तै गए राति पिपरा चोकमै प्रहरी र आन्दोलनकारीबीच झएको झडपमा परी वरिष्ठ हवल्दारसहित चार सुरक्षाकर्मी घाइते भएको सशस्त्र प्रहरी उपरीक्षक भीमबहादुर थापाले जानकारी दिए ।

घाइते सबै सुरक्षाकर्मीको वीरगन्जको हेल्थ केयर अस्पतालमा उपचार भइरहेको छ ।

उनले मोटरसाइकल तोडफोड तथा आगजनी गर्न लागेका आन्दोलनकारीलाई रोक्न खोज्दा प्रहरीलाई लक्ष्यित गरी ढुङ्गामुढा प्रहार थालेपछि स्थितिलाई नियन्त्रणमा लिन तीन राउन्ड हवाई फायर तथा १० राउन्ड अश्रुग्यास प्रहार गरिएको बताए ।

सो क्रममा प्रहरीको लाठी प्रहारबाट केही प्रदर्शनकारी समेत घाइते भएका छन् ।

घाइते सबै वीरगन्जस्थित नारायणी उपक्षेत्रीय अस्पतालमा उपचारपछि घर फिर्ता भएको अस्पताले जनाएको छ ।

सिरहामा पनि उस्तै
मोर्चाका कार्यकर्ताले आजै सिरहाको लहानमा दुई मोटरसाइकलमा आगजनी गरेका छन् ।

मोचार्का कार्यकर्ताले बिहान ०८:३० बजेतिर लहान नगरपालिका–३ रघुनाथपुर चोकमा बा ४१ प४६०० नंको मोटरसाइकलमा आगजनी गरेका हुन् । आगजनीमा मोटरसाइकलको इन्जिन तथा दुवै टायर जलेर नष्ट भएको छ ।

त्यसअघि मोर्चाका कार्यकर्ताले लहानको अस्पताल चोकमा बिहान सबेरै अनटेस्ट लेखिएको मोटरसाइकल जलाएका थिए ।

मोटरसाइकलसमेत चल्न नदिएर मोर्चाका कार्यकर्ताले अवरोध गरेपछि प्रहरीले बिहान ९ बजेतिर करिब एक सय मोटरसाइकललाई सुरक्षा दिई गन्तव्यतर्फ पठाएको छ ।

मोटरसाइकल नियन्त्रणमा लिएर जलाउन थालेपछि सर्वसाधारण त्रसित बनेका छन् ।

लहानको अस्पताल चोक, सहिद रमेश चोक र ट्राफिक चोकमा ठूलो सङ्ख्यामा सशस्त्र र नेपाल प्रहरी परिचालन गरिएको छ । लहान बजार र पूर्वपश्चिम सडकको भित्री भागमा लुकेर बसेका मोर्चाका सदस्य र प्रहरीबीच झडप हुन सक्ने सम्भावना बढेको छ ।

प्रहरीले बजार बन्द गराउँदै हिंडेको आरोपमा आन्दोलन सङ्घर्ष समितिका सल्लाहकार सत्यनारायण यादव र तमलोपा सिरहाका जिल्ला सदस्य रोशन यादवलाई नियन्त्रणमा लिएको छ ।

रौतहटमा भ्यानमा आगजनी
रौतहटको भेडियाही गाविस नजिकको सहायक राजमार्गमा पनि पिकअप भ्यानमा आगजनी भएको छ  ।

इलाका प्रहरी कार्यालय गरुडाका अनुसार मोर्चाका कार्यकर्ताले बा५च २२८८ नंको पिकअप भ्यानमा आगजनी गरेका हुन् ।

सदरमुकाम गौरबाट चन्द्रनिगाहपुरतर्फ किराना सामान लिएर आउँदै गरेको भ्यानमा आगजनी गरिएको इलाका प्रहरी कार्यालय गरुडाका प्रहरी निरीक्षक सन्तुलालप्रसाद जैसवालले जानकारी दिए  ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>