समाचारशुक्रबार, मंसिर ८, २०६९
सरकार सर्वसत्तावादतर्फ अग्रसरः विपक्षी दलहरु
नेपाली कांग्रेस, नेकपा एमालेलगायत सरकारविरुद्ध आन्दोलनरत दलहरुको उपत्यकास्तरीय सर्वदलीय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै नेपाली काँग्रेसका सभापति सुशील कोइरालाले वर्तमान सरकार सर्वसत्तावादको दिशातिर अग्रसर भएको र अन्तरिम संविधानलाई रद्दीको टोकरीमा फालेको टिप्पणी गरे ।
सभापति कोइरालाले वर्तमान सरकारको बहिर्गमनबिना चुनाव सम्भव नभएको बताए । उनले भने, “सात–आठ दिनभित्र सहमति नभए वैशाखमा चुनाव गर्न सकिँदैन, वर्तमान सरकारविरुद्ध हामी आन्दोलनमा प्रवेश गरिसकेका छौँ । हाम्रो आन्दोलन सफल भइछाड्नेछ, ढुक्क हुनुहोस् ।”
नेकपा एमालेका अध्यक्ष झलनाथ खनालले एमाओवादीको सर्वसत्तावाद र सत्तालिप्साका कारण मुलुकले राजनीतिक समाधान पाउन नसकेको बताए । उनले देशै ठप्प पारेर वर्तमान सरकारलाई घुँडा टेकाउने स्थितिमा पु¥याइने चेतावनी दिए । खनालले भने, “सर्वसत्तावाद टिकाउन खोजे जनआन्दोलनको अर्को आँधिबेहरी आउनेछ र त्यसले पूर्वराजा ज्ञानेन्द्रलाई जस्तै वर्तमान प्रधानमन्त्रीलाई बढारेर लैजानेछ ।” अध्यक्ष खनालले वर्तमान सरकारविरुद्ध राष्ट्रपतिले कदम चाल्ने बेला आइसकेको टिप्पणी गरेका थिए ।
त्यस्तै नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले वर्तमान सरकार राष्ट्रियताको सवालमा च्यूत भइसकेको बताए ।
पूर्वप्रधानमन्त्री सूर्यबहादुर थापा, राप्रपाका अध्यक्ष पशुपति शम्शेर राणा, नेकपा मालेका महासचिव सिपी मैनालीलगायतले संविधानसभा विघटनसँगै वर्तमान सरकारको संवैधानिक हैसियत समाप्त भइसकेकाले प्रधानमन्त्रीले मार्गप्रशस्त गर्नुपर्ने बताएका थिए । रासस
