समाचारशनिबार, मंसिर ९, २०६९
एकलौटी चुनाव घोषणा प्रत्युत्पादकः नियोक
नियोकद्वारा ८ मंसीरमा जारी विज्ञप्तिमा मुलुकमा सङ्क्रमणकाल लम्बिएको सन्दर्भमा सरकारद्वारा आगामी वैशाखमा गर्ने भनिएको निर्वाचन कुन प्रणाली, पद्दति, प्रकृया र सङ्ख्याका लागि गरिने भन्ने विषयमा राजनीतिक सहमति नगरी निर्वाचनको मिति घोषणा गर्नुले मुलुकमा गम्भीर अविश्वास र असहजता सिर्जना भएको उल्लेख छ ।
विज्ञप्तिमा भनिएको छ, “सत्तासिन राजनीतिक दलहरू र सत्ताबाहिर रहेका दलहरूबीच आपसी विवाद, विश्वासको सङ्कट र असमझदारी उत्कर्षमा पुगेको अवस्थामा सरकारद्वारा एकलौटीरूपमा घोषणा गरिएको निर्वाचनले विवाद र समस्या समाधान गर्न सहयोग पुर्याउनेभन्दा यो थप प्रत्युत्पादक हुने खतरा रहेको छ ।”
मुलुकमा स्वच्छ, स्वतन्त्र एवम् शान्तिपूर्ण निर्वाचन सम्पन्न गर्न आवश्यक संवैधानिक, कानुनी एवम् व्यवस्थापनका पूर्वाधारहरू अविलम्ब तर्जुमा गर्न माग गर्दै विज्ञप्तिमा जनताको सार्वभौम अधिकार, प्रतिस्पर्धात्मक लोकतन्त्रको मर्म र भावना अनुकूलको प्रतिनिधित्व प्रणालीअन्तर्गत निर्वाचन सम्पन्न गर्न सरकार र सम्पूर्ण राजनीतिक शक्तिहरू समक्ष जोडदार माग गरिएको छ ।
विज्ञप्तिमा नियोकका अध्यक्ष सूर्यप्रसाद श्रेष्ठ, सह–अध्यक्षहरु प्रा. कपिल श्रेष्ठ, केदार खड्का र गङ्गा कसजु, महासचिव डा. गोपालकृष्ण सिवाकोटी, कोषाध्यक्ष भवानी खरेल, सदस्यहरु चरण प्रसाई र तेज सुनारले हस्ताक्षर गरेका छन् ।
