समाचारआइतबार, मंसिर १०, २०६९
पाँचथरमा भीषण आगलागी- पूरै बजार सखाप
आगोले जलेर स्थानीय भक्तिप्रसाद बेघाकी १३ वर्षीया छोरी सोनियाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
बजारकै एउटाघरबाट राति ११.३० बजे सल्केको आगोले त्यहाँ रहेका १३ घर पूर्णरुपले नष्ट भएका हुन् । आगलागीमा परेर सीमा प्रहरी चौकी कार्यालयसमेत जल्दा सञ्चार सेटमा क्षति पुगेकाले समयमा सम्पर्क हुन नसकेको प्रहरी हवल्दार गोरमान राईले जानकारी दिए ।
आगो लागेपछि ती घरधनी र डेरा गरी बस्ने ५२ परिवार बिचल्लीमा परेका छन् । उनीहरुको खाद्यान, लत्ताकपडा, गरगहना र नगदसमेत गरी करिब रु सात करोडको क्षति भएको जिल्ला प्रहरी का हवल्दार राईले बताए ।
विद्युत् सर्ट भएर आगलागी भएको हुनसक्ने प्रारम्भिक अनुमान गरिएको छ । बजारका सम्पूर्ण घर जलेर नष्ट भएपछि मात्र आगलागी नियन्त्रणमा आएको हो ।
यसैबीच, जिल्ला प्रशासन कार्यालयलमा १० मंसीर बिहान बसेको बैठकले घरमा क्षति पुगेका परिवारलाई तत्कालका लागि रु पाँच हजारका दरले तथा मृतक बालिकाका अभिभावकलाई रु ४० हजार उपलब्ध गराउने निर्णय गरेको छ । आगलागीबाट पीडित परिवारलाई तत्काल राहत प्रदान गर्न जिल्ला प्रहरी कार्यालय र सशस्त्र प्रहरी बलको टोली घटनास्थलमा पुगेको बताइएको छ ।
रासस
