समाचारशनिबार, पौष ११, २०७२
कांग्रेस, एमाओवादी र मधेशी मोर्चा बैठकः थप छलफलबाट समाधान खोजिने
प्रमुख प्रतिपक्षी नेपाली काग्रेस, सत्तारुढ एमाओवादी र आन्दोलनरत मधेशी मोर्चाबीच आज, ११ पुसमा छलफल भएको छ ।
कांग्रेस सभापति सुशील कोइराला निवास महाराजगन्जमा बेलुकी भएको छलफलमा तराईको समस्या र संविधान संशोधनको विषयमा छलफल भएको थियो ।
छलफलमा सहभागी एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले देशको पछिल्लो अवस्थाका बारेमा सकारात्मक छलफल भएको तथा थप वार्ता गरी निष्कर्षमा पुगिने जानकारी दिए ।
उनले भोलि बिहान नेकपा एमाले सहित सबै दलका शीर्षनेता बसेर छलफल गर्नेसमेत बताए ।
कांग्रेस प्रवक्ता दिलेन्द्रप्रसाद बडूले वार्ता अत्यन्त सकारात्मक र उपलब्धिमूलक भएको बताए । भोलि संसद्मा प्रस्तुत हुने संशोधन प्रस्तावमा आवश्यक ठाउँमा भाषागत र भावनागत परिमार्जनको आवश्यक भए मोर्चाले आफ्नो माग राखेर अगाडि बढ्नुपर्ने उनको भनाई छ ।
वार्ता र संवादबाट राजनीतिक समाधान खोजिने बताउँदै उनले एमाओवादी सरकारमा रहेकाले अध्यक्ष दाहालले सरकारसँग छलफल गरी सरकारको आधिकारिक धारणा ल्याउने विश्वास व्यक्त गरे ।
सङ्घीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले बैठकमा केही छलफल भए पनि निष्कर्ष केही ननिस्किएको जानकारी दिए ।
त्रिपक्षीय वार्ता बस्नुअघि कोइराला निवासमै नेपाली कांग्रेस र मधेशी मोर्चाबीच छलफल भएको थियो ।
