समाचारबुधबार, मंसिर १३, २०६९
कांग्रेसले अहिले नै प्रधानमन्त्रीको नाम नतोक्ने
१३ मंसीरमा भएको कांग्रेस नेताहरुको अनौपचारिक छलफलमा एमाओवादीले कांग्रेसको नेतृत्व स्वीकार्ने अहिलेसम्म स्पष्ट नभएको अवस्थामा नाममात्रै तोक्नुले अर्थ नराख्ने धारणा बनेको कांग्रेस केन्द्रीय सदस्य लक्ष्मण घिमिरेले जानकारी दिए ।
उनले भने, “हामीमा नामको विषयमा विवाद छैन, मूख्य कुरा सहमतिको सरकार गठनका लागि एमाआवादी नै तयार छैन ।” एमाओवादी अध्यक्ष दाहालले कांग्रेसले सरकारको नेतृत्वगर्ने भए संविधानका अन्तर्वस्तुमा अहिले नै सहमति गर्नुपर्ने अडान राखेको उनले जानकारी दिए । घिमिरेले थपे, “अहिले त सहमतिको सरकार गठन गरेर चुनावमा जाने हो, अहिले नै संविधानका अन्तर्वस्तु, विवादित विषयमा एमाओवादीले चाहे अनुसार कांग्रेसले सहमति गर्नुपर्छ भन्नु हदैसम्मको बेइमानी हो ।”
एमाओवादी अध्यक्ष दाहालले मुखले सहमति भन्ने गरेको तर, सहमति नचाहेको भन्दै घिमिरेले अगाडी भने, “नयाँ सरकार एमाओवादीकै नेतृत्वमा बन्ने हो भने उसले संविधान निर्माणका विवादित विषयहरुमा कांग्रेसले भने अनुसारको सहमति गर्छ त ?”
सभापति कोइराला निवास महाराजगञ्जमा भएको छलफलमा देउवा पक्षधरहरुको सहभागिता भने थिएन । “हामीहरु त्यहाँ थिएनौं, उहाँहरुले के के छलफल गर्नुभयो थाहा छैन,” कांग्रेस पूर्वमहामन्त्री विमलेन्द्र निधिले भने, “देउवाजीले सभापतिको नाममा (प्रधानमन्त्रीका लागि) ‘नो अब्जेक्सन’ भनिसक्नुभएको छ ।”
कांग्रेसको नेतृत्वमा अहिलेसम्म सहमति नबनेपछि आजै बस्ने भनिएको केन्द्रीय कार्य समितिको बैठक पनि पछि सरेको छ । राष्ट्रपतिले तोकेको समयसीमाभित्र दलहरुबीच सहमति बन्ने नदेखिएपछि राष्ट्रपतिले अर्को समयसीमा तोक्ने पनि घिमिरेले बताए । उनले भने, “सहमति नबनेपछि राष्ट्रपतिले म्याद सार्नुहुन्छ होला ।”
