समाचारबिहीबार, मंसिर १४, २०६९
अन्ततः पाँच डिआइजीको बढुवा
१३ मंसीरमा बसेको मन्त्रीपरिषद् बैठकले डिआइजीहरु दिनकरशम्शेर जबरा, गंगाप्रसाद पाण्डे, रमेशबिक्रम शाह, विनोद सिहं र पुष्करनाथ रेग्मीलाई एआइजीमा बढुवा गरेको हो ।
गत २९ भदौदेखि एआइजीका ५ पदहरु रिक्त थिए । रिक्त पदहरुमा बरिष्ठ डिआइजीहरुसँगै कार्यसम्पादनमा राम्रा देखिएका अन्य डिआइजीहरुको पनि बढुवा गर्ने चर्चा चलेको थियो । तर, गृहमन्त्री विजयकुमार गच्छदारले राम्राको नाममा आफ्नालाई बढुवा गर्न चाहेपछि बढुवा प्रक्रिया नै अवरुद्ध भएको थियो । त्यसबारे उनले नियामावली संशोधन लगयातका प्रयत्न गरे पनि संभव नभएपछि ढिलो गरी सिनियरहरुको मात्रै बढुवा भएको उच्च प्रहरी स्रोतले जनाएको छ ।
त्यस्तै मन्त्रिपरिषद बैठकले नेपाल वायु सेवा निगमको महाप्रबन्धकमा मदन खरेललाई नियुक्त गर्ने निर्णय गरेको छ भने केन्द्रीय वालकल्याण समितिको कार्यकारी निर्देशकमा मनोज कँडेललार्ई नियुक्त गरेको छ ।
यस्तै बैठकले जनक शिक्षा सामाग्री केन्द्र लिमिटेडमा अनिलकुमार झालाई प्रबन्ध निर्देशकको जिम्मेवारी दिएको छ ।
राष्ट्रिय अनुसन्धान विभागमा सहअनुसन्धान निर्देशक रहेका राजेन्द्रकुमार खत्री र पुष्करप्रसाद चापागाइँलाई निर्देशकमा बढुवा गरी सरुवा गरेको छ ।
खत्रीलाई पोखरामा र चापागाइँलाई धरानमा सरुवा गरिएको हो । सशस्त्र प्रहरीको महानिरीक्षक कोषराज वन्तलाई सुरक्षा सम्बन्धि छलफलका लागि भारत पठाउने प्रस्तावलाई बैठकले स्वीकृत गरेको छ ।
बैठकले लागु औषध नियन्त्रण इकाईको नाम परिर्वतन गरेर लागु औषध नियन्त्रण ब्यूरो राख्ने निर्णय गरेको छ ।
