समाचारबिहीबार, मंसिर १४, २०६९

सुस्तामा भारतीय सुरक्षाकर्मीको हतियारसहित उपस्थिति, नेपाली प्रशासन अनभिज्ञ

रासस

सुरक्षा नीतिअनुसार नेपाल र भारतका सुरक्षाकर्मी हतियारसहित एकअर्का देशको भूमिमा हतियारसहित प्रवेश गर्न पाइँदैन । तर सुस्तामा भारतीय एसएसबीका सुरक्षाकर्मी भने हतियार लिएर प्रवेश गर्ने गरेका छन् ।

पटकपटक भारतीय अतिक्रमणको चपेटामा पर्दै आएको सुस्तामा हालसम्म १४ हजार हेक्टर नेपाली भूभाग भारतीय पक्षले अतिक्रमण गरिसकेको पुष्टि भए पनि गुमेको सुस्ताको भूमि सुस्तावासीलाई फर्काउन सरकारी पक्षबाट खासै पहल भएको  पाइँदैन । भारतीय एसएसबीका सुरक्षाकर्मी खुलेआम हतियारसहित प्रवेश गर्दा पनि नेपाली प्रशासन मौन छ ।

सुस्तामा भारतीय सीमा सुरक्षा बल(एसएसबी)का जवानहरु हतियारसहित गस्ती गर्दै। तस्बीर:पुरुषोत्तम सुबेदी/रासस

यसबारे नवलपरासीका प्रमुख जिल्ला अधिकारी परशुराम अर्यालले आफू अनभिज्ञ रहेको बताए । उनले भने – “अर्काको देशमा हतियार लिएर प्रवेश गर्न पाइँदैन । यस्तो भएको पाइए कानुनअनुसार भारतीय पक्षका सुरक्षाकर्मीलाई समेत कारबाही गर्न पहल गर्छु ।”

सुस्तामा २६७ घरधुरीका करिब दुई हजार ५०० जनसङ्ख्या  छ। विगतमा सुस्ता छुट्टै गाविस थियो तर भारतीय पक्षको अतिक्रमणका कारण सोही सुस्ता अहिले त्रिवेणी सुस्ता गाविस वडा नं ४ मा पर्दछ र यस वडाको आधा क्षेत्रफलमा समिति बनेको छ  । सुस्ताको नजिक रहेको भारतीय सीमा क्षेत्रमा भारतीय एसएसबीले तीनवटा सम्म शिविर स्थापना गरी सीमा क्षेत्रमा आफ्नो बलियो उपस्थिति देखाइआएको छ ।

यसबारे सीमा सुरक्षा बल नवलपरासीका सशस्त्र प्रहरी उपरीक्षक चित्रबहादुर खत्रीले आफू यसबारे अनभिज्ञ रहेको बताउँदै नेपाल र भारतको सीमासम्म भारतीय सुरक्षाकर्मीले हतियार लिएर आए पनि नियमअनुसार नेपाली भूभाग सुस्तामा हतियारसहित कुनै पनि हालतमा प्रवेश गर्न नपाइने तर्क गरे ।

नवलपरासीका प्रहरी उपरीक्षक कमलबहादुर जिटीले राज्यले सुस्तामा सुरक्षाकर्मीको बलियो उपस्थिति बनाउन निकै आवश्यक रहेको बताए । सुस्तामा भारतीय सुरक्षाकर्मीलाई हतियारसहित गस्ती गर्ने अधिकार नहुने पनि उनले बताए ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>