समाचारमंगलबार, माघ २६, २०७२
कोइरालाको निधनले गम्भीर र स्तब्ध बनाएको छ: दाहाल
एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति सुशील कोइरालाको निधनले आफ्नो पार्टी र व्यक्तिगत रुपमा आफूलाई गम्भीर र स्तब्ध बनाएको बताएका छन् ।
अध्यक्ष दाहालले जारी गरेको विज्ञप्तिमा नेता कोइराला नेपाली राजनीति तथा लोकतान्त्रिक आन्दोलनका एक अथक योद्धा र स्थापित व्यक्तित्व रहँदै आएको तथा उनी कांग्रेसका एक दृढ र त्यागी नेता भएको उल्लेख छ ।
विज्ञप्तिमा भनिएको छ, “संविधान निर्माण तथा घोषणाका क्रममा सुशील कोइरालाले राष्ट्रिय सहमति कायम गर्न महत्वपूर्ण भूमिका खेल्नुभएको थियो, जुन अविस्मरणीय रहेको छ । संविधान कार्यान्वयनको वर्तमान अवस्थामा उहाँको निधनले ठूलो क्षति भएको छ ।”
उनले कोइरालाप्रति पार्टीका तर्फबाट श्रद्धाञ्जलि व्यक्त गर्दै काँग्रेस पार्टी र कोइरालाका परिवारजनमा समवेदना व्यक्त गरेका छन् ।
विज्ञप्तिमा भनिएको छ, “विद्यमान नेपाली राजनीतिको चुनौतीको सामना नेपाली राजनीतिक दलहरु मिलेर मात्र गर्न सकिन्छ भन्ने सुशील कोइरालाको दह्रो मान्यता रहँदै आएको थियो, यही मान्यतालाई दह्रोसँग आत्मसात् गर्नु नै उहाँप्रतिको सच्चा श्रद्धाञ्जलि हुनेछ ।”
रासस
