खेलकुदबिहीबार, माघ २८, २०७२
नेपाल नामिबियासँग १५ रनले पराजित
यु–१९ समूहको विश्वकप क्रिकेट प्रतियोगितामा नामिबियासँग नेपाल १५ रनले पराजित भएको छ ।
बङ्गलादेशको फतुल्लाहस्थित खान साहेब ओस्मान अलि रङ्गशालामा आज सातौँ स्थानका लागि भएको ‘प्ले अफ’ म्याचमा नामिबियाले दिएको २२६ रनको चुनौति पछ्याउँदै मैदानमा उत्रिएको नेपालले ४४.२ ओभरमा सबै विकेट गुमाएर २१० रन बनायो ।
यसअघि नामिबियाले निर्धारित ४५ ओभरमा नौ विकेट गुमाउँदै नेपालसामु २२६ रनको चुनौती प्रस्तुत गरेको थियो ।
टस जितेर पहिले ब्याटिङ गरेको नामिबियाका लागि लोहान लरेन्सले सर्वाधिक ५९ रनको योगदान दिए ।
त्यस्तै माइकल भान लिङ्गेनले ५८ तथा फ्रान्कोइस राउटेनवाचले ३९ रन जोडे ।
नामिबियाका लोहन लौरेन्सले सर्वाधिक ५९ रन बनाए ।
नेपालका सन्दिप लामिछानेले ३ विकेट लिन सफल भए भने सुशील कँडेलले २ विकेट लिए भने सुनिल धमला र प्रेम तामाङले एक एक विकेट लिएका थिए ।
नेपालको तर्फबाट सुनील धमलाले ५९ रन बनाए । योगेन्द्र सिं कार्कीले ३५, प्रेम तामाङले ३२, दीपेन्द्रसिं ऐरीले ३१, आरिफ शेखले ३० रन बनाए भने अन्य ब्याट्सम्यानले दोहोरो अंक बनाउन सकेनन् ।
नेपाल पराजित भएसँगै आईसीसी यू–१९ को आगामी विश्वकपमा सोझै छनोट हुन पाउने छैन । नेपालले फेरि छनोट चरणबाटै खेल शुरु गर्नुपर्नेछ ।
—————————————————————————————————————
नामिबियाद्वारा नेपालसामु २२६ रनको चुनौती
हिमालखबर
उन्नाइस वर्षमुनि (यु–१९) उमेर समूहको विश्वकप क्रिकेट प्रतियोगितामा नामिबियाले नेपाललाई २२६ रनको चुनौती दिएको छ ।
बङ्गलादेशको फतुल्लाहस्थित खान साहेब ओस्मान अलि रङ्गशालामा आज भएको सातौँ स्थानको ‘प्ले अफ’ म्याचमा नामिबियाले ४५ ओभरमा नौ विकेट गुमाउँदै नेपालसामु २२६ रनको चुनौती प्रस्तुत गरेको हो ।
टस जितेर पहिले ब्याटिङ गरेको नामिबियाका लागि लोहान लरेन्सले सर्वाधिक ५९ रनको योगदान दिए । त्यस्तै माइकल भान लिङ्गेनले ५८ तथा फ्रान्कोइस राउटेनवाचले ३९ रन जोडे ।
नामिबियालाई २२५ रनमा समेट्ने क्रममा नेपालका सन्दिप लामिछानेले तीन विकेट लिए भने सुशील कँडेलले दुई तथा सुनिल धमला र प्रेम तामाङले समान एक/एक विकेट लिए ।
यो प्रतियोगितामा नेपालले विजय हासिल गर्न सकेमा नेपाल सातौँ स्थानमा रहँदै सन् २०१८ मा हुने उन्नाइस वर्षमुनिको विश्वकपका लागि सिधै छनोट हुनेछ । नेपालले नामिबियालाई पराजित गर्दै सातौँ स्थानमा रहन सके नेपाली क्रिकेट इतिहासमा नयाँ कीर्तिमानसमेत कायम हुनेछ ।
केही समयअघि संयुक्त अरब इमिरेट्स (युएई)मा आइसिसीको बोर्ड बैठकबाट शीर्ष एसोसिएट सदस्यलाई आगामी विश्वकपको लागि सिधै छनोट गर्ने निर्णय गरेको थियो । नेपाल र नामिबिया दुवै आइसिसीका एसोसिएट सदस्य हुन् ।
