समाचारबुधबार, चैत्र १०, २०७२
राजकुमार ह्यारी थप ६ दिन नेपालमै रहेर पुन:निर्माणमा खटिने
बेलायतका राजकुमार ह्यारीले आफ्नो नेपाल भ्रमण लम्ब्याएर थप ६ दिन नेपालमै रहने भएका छन् ।

तस्वीर: रासस
नेपाल र बेलायतबीच कूटनीतिक सम्बन्ध स्थापनाको द्वि–शतवार्षिकीको अवसरमा नेपालको पाँचदिने औपचारिक भ्रमणमा आएका ह्यारी आफ्नो औपचारिक भ्रमण पूरा गरेसँगै आगामी साता भूकम्प प्रभावित क्षेत्रमा सहायताका काममा साथ दिनका लागि नेपाल रहने भएका हुन् ।
“भूकम्पपीडितलाई सहयोग गर्ने बेलायतको परोपकारी संस्था टिम रुबिकन नेपाल परियोजनाका स्वयम्सेवकहरुसँग राजकुमार ह्यारीले भूकम्पबाट भत्किएका मध्य नेपालका दुर्गम पहाडी भेकका विद्यालयहरुको पुनःनिर्माणमा सहयोग गर्नुहुनेछ”– केन्स्ङिटन दरबारले केहीबेर अघि जारी गरेको विज्ञप्तिमा भनिएको छ ।
राजकुमारको सम्मानमा आज, १० चैत साँझ काठमाडौंमा नेपालका लागि बेलायतका राजदूत रिचर्ड मरिसले आयोजना गरेको स्वागत समारोहमा राजकुमार आफैंले पनि आगामी ६ दिन नेपालको निजी भ्रमणमा रहने र भूकम्पबाट प्रभावित विद्यालयहरुको पुनःनिर्माणमा सघाउने बताएका छन् ।
समारोहमा प्रधानन्याधीश कल्याण श्रेष्ठ, मन्त्रिपरिषद्का सदस्य, कूटनीतिक नियोगका प्रमुख तथा नेपाल सरकारका उच्च पदाधिकारीको उपस्थिति थियो ।
राजकुमार ह्यार गत ४ चैतमा नेपाल आइपुगेका हुन् ।
कान्ति बाल अस्पतालका बालबालिकासँग भलाकुसारी
यसअघि आज साँझ राजकुमार ह्यारी कान्तिबाल अस्पतालमा गई जलेका बालबालिकाको उपचार र उनीहरुको अवस्थाबारे जानकारी लिएका थिए ।
औपचारिक भ्रमणको अन्तिम दिन ३२ वर्षीय ह्यारीले त्यहाँ उपचारत १६ बालबालिका तथा उनीहरुका अभिभावकसँग कुराकानीसमेत गरे ।
ती बालबालिकामध्ये पाँच बालबालिका गत वैशाखमा गएको विनाशकारी भूकम्पले घर क्षति भएपछि अस्थायी बसोबासमा रहेको अस्पतालमा वरिष्ठ बालचिकित्सक आरपी चौधरीले जानकारी दिए ।
घाइते–बिरामीसँग कुराकानी गर्दा उनी गम्भीर बनेका थिए ।
चिकित्सक चौधरीले जलेको उपचार गर्ने (वर्न वार्ड) अन्य उपचारका तुलनामा पछि परेको बताउँदै यसलाई नीति निर्माता तथा सञ्चार क्षेत्रले समेत ओझेलमा पारेको बताए ।
करिब २० मिनेटका लागि समय दिने भनिए पनि बालबालिकासित भलाकुसारी गर्न मन पराउने राजकुमार ह्यारीले सो वार्डमा ४५ मिनेट समय दिएका थिए ।
राजकुमार ह्यारीले बालबालिकालाई खेलौनासमेत वितरण गरेका थिए ।
