समाचारसोमबार, मंसिर १८, २०६९
खड्काको निवेदन सर्वोच्चद्वारा खारेज
प्रधानन्यायाधीश खिलराज रेग्मी र न्यायाधीयद्वय गिरिशचन्द्रलाल र भरतबहादुर कार्कीको पूर्ण इजलासले १८ मंसीरमा सो फैसला सुनाएको अदालतका सहप्रवक्ता हेमन्त रावलले जानकारी दिए । रावलका अनुसार नेता खड्काको मुद्दा सम्बन्धमा यो नै अन्तिम फैसला भएको र धरौटी राखेर तारेखमा छाड्नका लागि परेको माग पनि यसै फैसलाअनुसार खारेज गरिएको छ ।
अख्तियारले निर्धारण गरेको भ्रष्टाचारभन्दा बढी तोकिएको र यसअघि सर्वोच्चकै फैसलाको नजिरभन्दा फरक तरिकाले फैसला गरिएको भन्दै गत असोजमा अधिवक्ता बालकृष्ण न्यौपानेद्वारा पुनरावेदनका लागि निवेदन दायर गरिएको थियो ।
पदको दुरूपयोग गरी अकूत सम्पत्ति आर्जन गरेको भन्दै नेता खड्कालाई सर्वोच्च अदालतले गत साउन ३० गते भ्रष्टाचारी ठहर गर्दै डेढ वर्ष कैद र रु ९४ लाख ७५ हजार जरिवाना तथा त्यत्ति नै विगो असुल्नुपर्ने फैसला सुनाएको थियो ।
सो फैसलापछि नेता खड्का आफैं गत भदौ ६ गते काठमाडौँ जिल्ला अदालत पुगेर ठहर गरिएको रकम बुझाई सोही दिन जेल चलान भएका थिए । रासस
