समाचारमंगलबार, मंसिर १९, २०६९

दलहरुले फेरि पनि सहमति गर्न सकेनन्, कांग्रेसले भोली प्रमको उम्मेदवार तोक्ने

हिमालखबर

१९ मंसीर साँझ नयाँ बानेश्वरमा भएको बैठकमा एमाओवादीले नेपाली कांग्रेसको नेतृत्व स्वीकार्न आनाकानी गरेपछि सहमति हुन नसकेका हो । यसअघि विहानमात्रै राष्ट्रपतिलाई भेट्न शीतल निवास पुगेका नेताहरुलाई राष्ट्रपतिले दुई दिनभित्रै सहमतिमा पुग्न दबाव दिएपछि नेताहरु प्याकेजमै सहमति गर्छौं भनी बाहिरिएका थिए ।

सेना समायोजन विशेष समितिको सचिवालयमा बसेको तीन दलका शीर्ष नेताहरुको बैठकमा फेरि पनि २१ मंसीरसम्ममा सबै विषयमा प्याकेजमै सहमति गर्ने निर्णय भएको छ । सहमतिय सरकार, निर्वाचन तथा संवैधानिक नियुक्तिका विषयमा प्याकेजमा सहमति गर्ने विषयमा छलफल भएको एनेकपा माओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठले बताए ।

बैठकमा सहभागी एमाले र एमाओवादीले कांग्रेससँग सहमतीय सरकारका लागि प्रधानमन्त्रीको नाम मागेका थिए । कांग्रेसले बुधबार केन्द्रीय समितिको बैठक बसेर प्रधानमन्त्रीका लागि नाम सार्वजनिक गर्ने जानकारी दिएको छ । “एमाओवादी र एमाले पनि कांग्रेसलाई नेतृत्व दिन सकारात्मक देखिएका छन् , बुधबार बस्ने केन्द्रीय समितिको बैठकले प्रधानमन्त्रीको नाम चयन गर्नेछ,” कांग्रेस महामन्त्री कृष्ण सिटौलाले भने ।

नेकपा एमालेका नेता केपी ओलीले एमाओवादीले सत्ता छाड्न आलटाल गरेको र कांग्रेसको नेतृत्व पनि स्वीकार्न नसक्दा  ढिलाइ भइरहेको बताए ।

छलफलमा एमाओवादीका अध्यक्ष पुष्पकमल दाहाल, उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, नेपाली कांग्रेसका सभापति सुशील कोइराला र महामन्त्री कृष्णप्रसाद सिटौला, नेकपा एमालेका अध्यक्ष झलनाथ खनाल र केपी ओलीलगायतका नेताहरुको उपस्थिति थियो ।

प्रमुख दलहरुको बैठक बानेश्वरमा

हिमालखबर
मंगलबार , १९ मंसीर २०६९ ४:५७ पम

सहमतीय सरकार गठनका लागि राष्ट्रपतिले दोस्रो पटक दिएको समयसीमा दुई दिन बाँकी छँदा सहमतिका लागि प्रमुख दलहरूको बैठक नयाँ बानेश्वरमा बसिरहेको छ ।

विघटित संविधानसभाको भवनमा जारी बैठकमा राष्ट्रिय सरकार, संविधानका विवादित विषय, अन्तरिम संविधान संशोधन, संवैधानिक निकायका खाली पदपूर्तिलगायतका विषयमा छलफल भइरहेको दलहरूले जनाएका छन् ।

१८ मंसीरमा गौशालाको एक होटेलमा भएको दलहरुको वार्तामा सरकारको नेतृत्व कसले गर्ने भन्ने विषयमा दलहरू आ–आफ्नै अडानमा रहेपछि प्याकेजमै सहमति खोज्ने निर्णय भएको थियो ।संवैधानिक निकायहरु धमाधम खाली हुन थालेपछि सरकार विपक्षी दलसँग सहमति गर्नुपर्ने बाध्यतामा पुगेको छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>