समाचारमंगलबार, मंसिर १९, २०६९
मन्त्रिपरिषद्द्वारा विभिन्न पदमा नियुक्ति
१९ मंसीर साँझ बसेको मन्त्रिपरिषद् बैठकले नेपाल दूरसञ्चार प्राधिकरणको अध्यक्षमा दिगम्बर झा र सदस्य पदमा हेमराज ज्ञवालीलाई नियुक्त गरेको छ । यसैगरी, नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशकमा रामेश्वरराय यादव नियुक्त भएका छन् भने बिमा समितिको अध्यक्ष पदमा भक्तबहादुर केसीलाई पुनः चार वर्षका लागि नियुक्त गरिएको सूचना तथा सञ्चारमन्त्री राजकिशोर यादवले जानकारी दिए ।
मन्त्रिपरिषद सचिवालय सिंहदरबारमा बसेको बैठकले रेडियो प्रचार सेवा विकास समितिका कार्यकारी निर्देशक तपनाथ शुक्लको राजीनामा स्वीकृत गरी सुरेशबहादुर कार्कीलाई नियुक्त गरेको छ भने लुम्बिनी विकास कोषको सदस्य–सचिव पदमा अजितमान तामाङलाई नियुक्त गरेको छ ।
यस्तै सुदूरपश्चिम विकास आयोगको अध्यक्षमा जगदीश पाल तथा सदस्यमा तेजबहादुर शाह र टङ्क गुरुङलाई नियुक्त गरेको छ । कर्णाली विकास आयोगको अध्यक्षमा कुलबहादुर रोकाया तथा सदस्यमा दीपक बुढा र डिल्लीबहादुर सिंह नियुक्त भएका छन् ।
त्यस्तै बैठकले माओवादी सेनाका लडाकुहरूको व्यवस्थापनको काम गर्दै आएको शिविर व्यवस्थापन कार्यालयहरूलाई खारेज गर्ने निर्णय गरेको मन्त्री यादवले बताए ।
यसैगरी, मन्त्रिपरिषद्ले अमेरिकाको क्यालिफोर्निया राज्यको सान्डियागो शहरका लागि गुणाखर बस्याल, संयुक्त अधिराज्यको स्कटल्यान्डको गलास्को सहरका लागि सुनिता पोद्दार र सुडानको खार्तुमका लागि अब्बास अल्वा शियामोसालाई अवैतनिक नेपाली वाणिज्यदूत नियुक्ति गरेको छ ।
त्यस्तै जडिबुटी उत्पादन तथा प्रशोधन कम्पनी लिमिटेडको अध्यक्षमा तत्कालका लागि वन तथा भू–संरक्षण मन्त्रालयका सहसचिव कृष्णप्रसाद आचार्यलाई नियुक्ति गरिएको छ ।
