समाचारबुधबार, बैशाख १५, २०७३
पत्रकार दीक्षितलाई गैरकानूनी रुपमा थुनामा राखिएको भन्दै सर्वाेच्चमा बन्दी प्रत्यक्षीकरणको रीट दर्ता
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बरिष्ठ पत्रकार कनकमणि दीक्षितलाई गैरकानूनी रुपमा थुनामा राखिएको भन्दै त्यस विरुद्ध सर्वाेच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रीट दर्ता भएको छ ।
पत्रकार दीक्षितकी पत्नी शान्ता दीक्षितले गैरकानूनी रुपमा थुनामा राखिएकोमा रिहाइको माग गर्दै आज १५ वैशाखमा रीट दर्ता गरेकी हुन् । दीक्षितलाई १० वैशाखमा अख्तियारले उजुरी र आरोपबारे जानकारी नदिई नियन्त्रणमा लिएर हिरासतमा राखेको छ ।
हिरासतमा राख्नुको कारण र आधारबारे केही नखुलाइएकाले त्यस विरुद्ध रीट दायर भएको हो । १२ वैशाखमा विशेष अदालतले अनुसन्धानका लागि म्याद थप गरेको भएपनि आधार र कारणबारे केही नखुलाइएको भन्दै विशेषलाई समेत विपक्षी बनाएर रीट दायर भएको हो ।
रीट उपर सर्वाेच्चमा भोलि, १६ वैशाखमा सुनुवाई हुनेछ ।
