समाचारबुधबार, मंसिर २०, २०६९
म्याद सकिनु एक दिनअघि पनि सहमति भएन
नेपाली कांग्रेसले आफ्नो तर्फबाट सहमतिको सरकारको नेतृत्वकर्तामा सभापति सुशील कोइरालाको नाम प्रस्ताव गरेपछि २० मंसीर साँझ बसेको प्रमुख दलका शीर्ष नेताहरुको बैठकमा एमाओवादीले नयाँ बन्ने संविधानका अन्तर्वस्तुमा पनि सहमति गर्नुपर्ने भनेपछि बैठक बिना निष्कर्ष टुंगिएको हो ।
“संविधान सभा विघटन भएको ५ महिना नाघिसकेको छ र अर्को संविधान सभा गठन भएकै छैन यस्तो अवस्थामा संविधानका अन्तर्वस्तुमा पनि सहमति गर भन्नु सत्ता लम्बाउने खेलमात्रै हो, ” बैठकपछि नेपाली कांग्रेसका सभापति रामचन्द्र पौडेलले भने ।“उहाँहरु (एकिकृत माओवादी) ले सत्ता लम्बाउने बहाना बनाउन थालेपछि बैठकमा बस्नुको औचित्य रहेन र हामीहरु निक्लियौं ,” नेपाली कांग्रेसका महामन्त्री कृष्णप्रसाद सिटौलाले जानकारी गराए ।
त्यस्तै, एमाओवादी प्रवक्ता अग्नि सापकोटाले संवैधानिक नियुक्ति, संविधान सभाको चुनावमा सदस्य संख्या, संविधान संशोधनलगायतका विषयमा सहमति गरौं भन्दा कांग्रेस–एमालेले नमानेको बताए ।
एमाओवादी अध्यक्ष पुष्मकल दाहालको निवास लाजिम्पाटमा बसेको बैठकमा एमाओवादी र मधेशी मोर्चाले राज्य पुनर्संरचना र शासकीय स्वरुपमा उनीहरुले भने अनुसार नै सहमति गरेमात्र कांग्रेसको नेतृत्व स्वीकार्ने बताएपछि सहमति हुन नसकेको बुझिएको छ । राष्ट्रपति रामवरण यादवले सहमतिको सरकार गठनका लागि प्रधानमन्त्रीको नाम प्रस्ताव गर्न दलहरुलाई दोस्रो पटक दिएको समयसीमा २१ मंसीरमा समाप्त हुँदैछ ।
प्रमुख दलहरुको बैठक लाजिम्पाटमा
प्रमुख विपक्षी नेपाली कांग्रेसले प्रधानमन्त्रीको नाम प्रस्ताव गरेपछि दलहरुको बैठक दाहाल निवास लाजिम्पाटमा बसिरहेको छ ।
सहमतिको सरकार गठनका लागि राष्ट्रपतिले दोस्रो पटक दिएको सात दिनको समयसीमा सकिनु एक दिनअघि मधेशी मोर्चासहित एनेकपा माओवादी, नेपाली कांग्रेस, नेकपा एमालेका शीर्ष नेताहरु सहमति जुटाउन बैठकमा बसेका हुन् ।
यसअघि सत्ता गठबन्धन दलहरुको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बसेको थियो भने आजै बसेको एमाओवादी पदाधिकारी बैठकले सशर्त नेपाली कांग्रेसको नेतृत्व स्वीकार्न सकिने निर्णय गरेको छ ।
