थप समाचारबिहीबार, जेठ ६, २०७३
दाहालले भने, ‘अब चमत्कार हुन्छ’

एमाओवादी र अन्य माओवादी समूहबीच एकता भई नयाँ दल नेकपा माओवादी केन्द्रको घोषणा सभामा माओवादी नेताहरु । तस्वीर: बिक्रम राई
एमाओवादी र अन्य माओवादी समूहबीच एकता भई आजै घोषणा भएको नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले अब देशमा नयाँ चमत्कार हुने दाबी गरेका छन् ।
काठमाडौंको बबरमहलमा आयोजित नयाँ पार्टीको घोषणा सभालाई सम्बोधन गर्दै दाहालले पुरानो माओवादी पार्टी समाप्त भई नयाँ पार्टीको उदय भएको र यो सबैभन्दा बलियो पार्टी हुने दाबी गरे ।
“नयाँ पार्टीले पुरानो कार्यशैलीलाई निरन्तरता दिनेछैन, हामी नयाँ कार्यदिशाका साथ केही महीनामै गाउँगाउँ जाने छौं, संगठन विस्तार गर्ने छौं, नेपाली क्रान्ति नयाँ चरणमा प्रवेश गर्नेछ, चमत्कार हुनेछ,” दाहालले भने ।
नयाँ पार्टीको प्रतिवेदन र प्रस्तावित विधानमा सामान्तवादमाथि नेपाली जनताको विजय भए पनि सामान्तवादका केही अवशेष अझैं बाँकी रहेको, मुलुकमा पूँजीवादको शुरुवात भए पनि पूर्णता प्राप्त नभएको उल्लेख गरिएको जानकारी दिंदै दाहालले एकवर्षभित्रै एकता महाधिवेशन गरेर त्यसमा थप परिमार्जन गरिने बताए ।
उनले पूँजीवादी-जनवादी क्रान्तिलाई पूर्णता दिई समाजवादी क्रान्तिको तयारी गर्ने पार्टीको सर्वसम्मत कार्यदिशा रहेको पनि बताए । दाहालले भने, “हामीलाई कमजोर पार्ने र अपमानित गर्ने जुन प्रवृत्तिको शुरुवात भएको थियो त्यसको अन्त्य भएको छ ।”
सरकार, सदन र सडकबाट समेत नेपाली जनताका मुद्दा उठाउने नयाँ पार्टीको नीति रहेको उनले बताए ।
‘बाबुराम बुर्जुवासँग नहिड्नुस’
दाहालले पूर्व माओवादी नेता बाबुराम भट्टराईलाई पनि एकीकरण प्रक्रियामा सहभागी हुन अपिल गरेका छन् ।
एमाओवादी र अन्य माओवादी घटकबीच एकीकरणपछि बनेको नेकपा (माओवादी केन्द्र) को घोषणा सभालाई सम्बोधन गर्दै अध्यक्ष दाहालले भने, “‘यो विशाल सागरमा आउनुस, नयाँ माओवादीमा आउनुस, नयाँ शक्ति भन्दै बुर्जुवालाई लिएर हिंडन छोड्नुस ।”
उनले नेकपा माओवादी क्रान्तिकारीका अध्यक्ष मोहन वैद्य लगायत अन्य कम्युनिष्ट नेताहरुलाई पनि एकीकृत पार्टीमा आउन आग्रह गरेका थिए ।
