समाचारशुक्रबार, मंसिर २२, २०६९
राष्ट्रपतिद्वारा ६ दिनको म्याद थप (विज्ञप्तिसहित)
शुरुमा ८ मंसीरमा सहमतिका लागि ७ दिने म्याद दिएका राष्ट्रपतिले दलहरुलाई थप समय दिएको यो दोस्रो पटक हो । २१ मंसीर साँझ भएको चार राजनीतिक शक्तिहरुको बैठक सहमतिमा पुग्न नसकेपछि, समय अपुग भएको भन्दै राष्ट्रपतिलाई थप समयका लागि आग्रह गर्ने निर्णय गरिएको थियो ।
राष्ट्रपतिसँगको भेटपछि अध्यक्ष दाहालले यसअघि झैं ‘थपिएको समयभित्रै सहमति जुटाउने’ दोहोर्याएका छन् ।
दलहरुले राष्ट्रपतिसँग छलफल गर्ने
सहमतिको सरकार गठनका लागि दोस्रो पटक दिएको सात दिने म्याद व्यर्थै खेर फालेका दलहरुले २२ मंसीर बिहान राष्ट्रपतिसँग छलफल गर्ने भएका छन् ।
हिमालखबर
बिहीबार , २१ मंसीर २०६९ ९:५८ पम
पुनः म्याद थपका लागि आजै २१ मंसीरमा आग्रह गर्ने बताएका दलहरुलाई राष्ट्रपतिले भोली बिहानको समय दिएपछि बिहान छलफल गरिने भएको राष्ट्रपतिका प्रेस सल्लाहकार राजेन्द्र दाहालले जानकारी दिएका छन् । “राष्ट्रपतिज्यूले २२ गते बिहान दलहरुसँग छलफल गरेपछि मात्रै के गर्ने भन्ने निर्णय हुनेछ,” सल्लाहकार दाहालले भने ।
२१ मंसीर साँझ मधेशी मोर्चालगायत एकीकृत नेकपा माओवादी, नेपाली कांग्रेस र नेकपा एमालेबीच भएको छलफलमा सत्ताधारी दलहरुले संविधानका अन्तर्वस्तु (शासकीय स्वरुप र राज्य पुनःसंरचना)मा उनीहरुले भने अनुसारकै सहमति गर्नु पर्ने अडान राखेपछि दलहरुबीच सहमति बन्न नसकेको हो ।
राष्ट्रपतिले ८ मंसीरमा दलहरुलाई पहिलो पटक सात दिनको म्याद दिएर सहमतिको सरकार गठनका लागि प्रधानमन्त्रीको नाम प्रस्ताव गर्न अन्तरिम संविधानको धारा ३८(१) अनुसार आव्हान गरेका थिए । त्यो सात दिनभित्र दलहरुबीच सहमति नभएपछि १४ मंसीरमा थपिएको सात दिने म्याद आज सकिएको हो ।
विपक्षी दलहरुले बारम्बार प्रधानमन्त्रीको नाम प्रस्ताव गर्न नेपाली कांग्रेसलाई भनिरहेपछि कांग्रेसले सभापति कोइरालाको नाम प्रस्ताव गरेको थियो । विपक्षी दलहरुको समेत समर्थनमा कोइरालाको नाम आएपछि सहमति हुने अपेक्षा गरिएकोमा एकीकृत माओवादीले नयाँ बन्ने संविधानका अन्तर्वस्तुमा पनि अहिले नै सहमति गर्नुपर्ने भनेपछि दलहरुबीच सहमति बन्न सकिरहेको छैन ।

