अर्थ/बजारशुक्रबार, मंसिर २२, २०६९
नेपाल बैंकले हकप्रद सेयर जारी गर्ने, सिभिलको पनि सेयर आउँदै
बैंकले दिएको जानकारीअनुसार प्रतिसेयर ९.५ को अनुपातमा जारी गरिने हकप्रद सेयरको अङकित मूल्य रु १०० हो र तीन करोड ६१ लाख ९५ हजार ८२० कित्ता निष्काशन हुनेछ । हकप्रद सेयर निष्काशनको जिम्मा नागरिक लगानी कोषलाई दिइएको बैंकका जनसम्पर्क अधिकृत अश्विन पुडासैनीले जानकारी दिए ।
कोषसँग बिहीबार भएको सम्झौतामा नेपाल बैंक लिमिटेडको तर्फबाट व्यवस्थापन समूहका संयोजक महेश्वरलाल श्रेष्ठ र नागरिक लगानी कोषको तर्फबाट कोषका कार्यकारी निर्देशक ऋषिराम गौतमले हस्ताक्षर गरेका थिए ।
यसैबीच बैंकले प्रदर्शनी मार्गस्थित रत्नराज्य क्याम्पसमा एक्सटेन्सन काउन्टरमार्फत बैंकिङ सेवा तथा एटिएम सेवा सञ्चालनमा ल्याएको छ ।
सिभिलको पनि सेयर आउँदै
सिभिल बैंक लिमिटेडले पनि रु ८० करोड बराबरको ८० लाख कित्ता प्राथमिक सेयरको निष्काशन यही २५ मंसीरदेखि गर्ने भएको छ ।
बैंकले जारी गर्न लागेको उक्त साधारण सेयरको बिक्री प्रबन्धकका रूपमा नागरिक लगानी कोष, नबिल इन्भेस्मेन्ट लिमिटेड, एनसिएम मर्चेन्ट बैंक लिमिटेड र एस क्यापिटल लिमिटेड रहेका छन् । सेयर निस्काशन अघि बैंकले मुलुकको पूर्वदेखि पश्चिमका विभिन्न शहरमा गतसाता स्थानीय उद्योग वाणिज्य सङ्घ, ठूला एवम् साना लगानीकर्ताका साथै सर्वसाधरणसँग अन्तर्क्रिया गरेको थियो ।
लगानीको वातावरण सङ्कुचित हुँदै गइरहेको अवस्थामा बैंकले जारी गर्ने सेयरबाट ठूला एवम् साना लगानीकर्ता लाभान्वित रहने बैंकका प्रमुख कार्यकारी अधिकृत किशोर महर्जनले बताएका छन् । बैंकले जारी गर्न लागेको साधारण सेयर हालसम्मकै वाणिज्य बैंकमध्येको सबैभन्दा ठूलो हो ।
बैंकले गत आर्थिक वर्षमा रु आठ अर्ब ८० करोड निक्षेप सङ्कलन गरी रु सात अर्ब ८२ करोड कर्जा प्रवाह गरेको थियो भने रु दुई करोड ७२ लाख खुद मुनाफा आर्जन गरेको थियो ।
हाल जम्मा १८ वटा शाखामार्फत आफ्नो सेवा प्रदान गरिरहेको यस बैंकले चालु आर्थिक वर्षभित्र आफ्नो शाखा सङ्ख्या २२ पुर्याउने लक्ष्य लिएको छ । रासस
