समाचारशुक्रबार, आषाढ १०, २०७३
जुत्ताको माला लगाइदिएर गाउँ घुमाउनेलाई छाड्न कांग्रेसको दबाव
-जियालाल साह, वीरगन्ज
अन्तरजातीय विवाह गरेका अर्जुन साहको बुवा शिवपुजनलाई जुत्ताको माला लगाइदिएर गाउँ घुमाउनेहरुलाई तत्काल छाड्न नेपाली कांग्रेस पर्साले प्रशासनलाई दबाव दिएको छ ।
प्रमुख जिल्ला अधिकारी केवराज घिमिरेलाई ज्ञापनपत्र बुझाउँदै कांग्रेसलेजुत्ताको माला लगाइदिएर गाउँ घुमाएको आरोपमा पक्राउ परेकाहरुलाई छाड्न दबाव दिएको हो । वीरगन्ज उपमहानगरपालिका–२१, का अर्जुनले गाउँकै रवीनाकुमारी पटेललाई भगाएर विवाह गरेपछि गाउँका मुखिया पञ्चहरुले शिवपुजनलाई जुत्ताको माला लगाइदिएर गाउँ घुमाएका थिए ।
अन्तरजातीय विवाह गरेका छोरालाई एक हप्ताभित्र गाउँमा उपस्थित गराउन दिएको समयभित्र छोरा ल्याउन नसकेको भन्दै जुत्ताको माला लगाइदिएर गाउँ घुमाउने स्थानीय मुखिया शिवशंकर पटेल र ब्रम्हदेव पटेल तथा चौकीदार सुरेन्द्र पासवानलाई प्रशासनले पक्राउ गरी सार्वजनिक मुद्दा दर्ता गरेको छ ।
गाउँका पञ्चहरुले गरेको निर्णय सबैलाई मान्य भएकाले पक्राउ परेकाहरुलाई छाड्नुपर्ने दबाव दिन पूर्वसांसद अजय द्विवेदीको नेतृत्वमा कांग्रेसका कार्यकर्ताहरु प्रशासन पुगेका थिए । जिल्ला सचिव अशोक जैशवाल प्रशासनले बिना उजुरी गाउँका पञ्चहरुलाई पक्राउ गरेकाले छोड्न दबाव दिएको बताउँछन् ।
डीएसपी होबिन्द्र बोगटीले घटना निन्दनीय भएकाले पक्राउ गरिएकाहरुलाई छोड्न नमिल्ने बताए । उनले भने, “अन्तर जातीय विवाहकै कारण जुत्ताको माला लगाइदिएर गाउँ घुमाउनेहरुलाई कार्बाही हुन्छ, कुनै दबावले काम गर्दैन ।”


